टस जितेको नेपालले नेदरल्याण्ड्सविरूद्ध पहिले बलिङ गर्दै, दीपेन्द्र खेल्ने


२०८० फाल्गुण ५ शनिबार ०७:३६ बजे

काठमाडौं । आइसिसी लिग–२ को त्रिदेशीय श्रृंखला (सिरिज) मा नेदरल्याण्ड्सविरूद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । त्रिवि खेल मैदानमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । बिहीबारको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४१.१ओभरमा अल आउट भएर १३२ रन मात्रै बनाएको थियो । उक्त खेलमा ओपनर कुशल भूर्तेल रोयल डक भएका थिए । नेपाल अघिल्लो खेलमा भएको कमजोरी सुधार गर्दै आज उत्कृष्ठ प्रदर्शन गर्ने लक्ष्यमा हुनेछ । फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेलेपछि सिरिज सकिनेछ ।

लिग–२ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिममा दुई खेलाडी परिवर्तन गरेको छ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा उत्कृष्ट ब्याटिङ गरेपछि क्यानले अनिल र देवलाई वैकल्पिकबाट राष्ट्रिय टिममा स्थान दिएको हो । अनिलले पछिल्लो दुई खेलमा क्रमश अर्धशतक र शतक प्रहार गरेका थिए। अन्तिम खेलमा ब्याटिङको पालो नपाएका देवले दोस्रो खेलमा अर्धशतक प्रहार गरेका थिए ।

यसअघि टिममा रहेका बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर अर्जुन साउद भने टिमबाट बाहिरिएका छन् । गत संस्करणमा सात टिमबीच प्रतिस्पर्धा भएकोमा यसपटकको लिग–२ मा आठ टिम भिड्दै छन् । आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्दा २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुँदैछ ।

आठमध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा पुग्नेछन् । बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ । चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्ने छन् । जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाली टिम
रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७