महासमिति वैठकको मुखमा कांग्रेसका २२ नेताले घोषणा गरे हिन्दू राष्ट्र स्थापना महाअभियान


२०८० फाल्गुण ५ शनिबार १०:३२ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा भएको छ ।

काठमाडौंको थापागाउँस्थित बानेश्वर बैंक्वेटमा आयोजित कार्यक्रममा महाअभियानको औपचारिक रूपमा घोषणा गरिएको हो । नेता भण्डारीले हिन्दू राष्ट्र नेपालको महाअभियानमा साथ दिनका लागि पार्टीका नेता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसहित सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूमा आग्रह गरेका छन् ।

अभियानको महासचिवमा कांग्रेसका केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य एवम् विराटनगर नगरपालिकाको पूर्वप्रमुख भीम पराजुली र केन्द्रीय सदस्य एवम् सांसद मुक्ताकुमारी यादव छन् । कांग्रेसपछि पछिल्लो समय हिन्दूराष्ट्रलाई एजेण्डा बनाउनुपर्ने दबाब बढ्दै गइरहेको छ । शुक्रवारको केन्द्रीय समितिको बैठकमा पार्टी सनातन हिन्दू राष्ट्र नेपालको पक्षमा उभिनुपर्ने भन्दै २२ जना केन्द्रीय सदस्यले हस्ताक्षर संकलन गरेर बुझाएका थिए ।

सोमबारदेखि सुरू हुने महासमितिको बैठकमा पनि भण्डारीको नेतृत्वमा हिन्दू राष्ट्रको एजेण्डा उठाउने तयारी छ । अघिल्लो महासमितिको बैठकमा पनि भण्डारीसहित महासमिति सदस्यहरूले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर अभियान नै चलाएका थिए । ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दूधर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिएको विषयप्रति उनीहरूको असहमति छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७