मूर्ति सेलाउने विषयमा झडपपछि रौतहटमा अनिश्चितकालीन कर्फ्यू


२०८० फाल्गुण ५ शनिबार ०८:०९ बजे

रौतहट । रौतहटमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई समुदायबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा शनिबार साँझ दुई पक्षबीच झडप भएको थियो । झडपमा केही स्थानीय घाइते भएका छन् । अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको बताएका छन् ।

‘विवादलाई सामान्यीकरण गर्न दुई पक्षबीच छलफलका बाबजुत पनि स्थिति सामान्य नभएकाले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भङ्ग हुन जाने स्थिति देखिएकोले तपशिल सीमा क्षेत्रभित्र कसैले आवत जावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न, भेला गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ र्‍याली गर्न, एवं अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी मिति २०८०।११।०५ गते बेलुका ०५ः ०० बजे देखि अर्को आदेश नभए सम्मको लागी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) कर्फ्यु आदेश जारी गरिएको छ ।’ प्रमुख रेग्मीद्वारा जारी आदेशमा भनिएको छ ।

उनका अनुसार पूर्वमा जोकाहा गाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७