‘दंगल’ मा अमिर खानको छोरीको भूमिका निभाएकी सुहानीको १९ वर्षको उमेरमा निधन


६ फाल्गुन २०८०, आईतवार
dangal actress suhani bhatnagar passes away at the age of 19 pwHJpu5uZs

मुम्वइ । दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ । सुहानी भटनागरसँगै जायरा वसीम पनि आमिर खानकी छोरीहरूको बाल्यकालको भूमिकामा देखिएकी थिइन् । आमिरले दुवैको तारिफ गरेका थिए ।

इन्डियन एक्सप्रेसका अनुसार जब दंगल २०१६ मा रिलिज हुन लागेको थियो, तब आमिर खानले सुहानीको तारिफ गर्दै उनी आफूभन्दा राम्रो अभिनेत्री भएको बताएका थिए । आमिरले भनेका थिए, ‘यदि फिल्ममा हामी सबैको अभिनयको मूल्याङ्कन गर्ने हो भने म यी दुई बच्चालाई मेरो अभिनयभन्दा दश गुणा राम्रो भन्छु । फिल्म रिलिज भएपछि दर्शकले यो पनि देख्नेछन् ।’ नभन्दै उनको अभिनयको सबैतिर तारिफ हुन पुग्यो ।

आमिरले पनि आफ्नो फिल्मी करियर २५ वर्षसम्म चलेको तर यी बालबालिका निकै प्रतिभाशाली रहेको बताएका थिए । फिल्मका लागि उत्कृष्ट बाल कलाकार छनोटको महत्त्वबारे कुरा गर्दै आमिर खानले आफू र फिल्मका निर्देशक नितिश तिवारीलाई राम्रो बाल कलाकार नभेटिएमा फिल्म नबनाउने कुरा समेत गरेको अवस्थामा उनीहरू भेटिएका थिए । तर, यो फिल्मले भारतीय समाजलाइ ठूलो प्रभाव छाडेको थियो ।

८ महिनाको मिहिनेत पछि गीता फोगटको भूमिका जायरा वसीमलाई र कान्छी बबिता फोगटको भूमिका सुहानी भटनागरलाई दिइएको थियो । आमिरले यो पनि भनेका थिए, ‘मैले यी बालबालिकाबाट धेरै शरारती कुरा सिकेको छु । म सधैं यो विश्वास गर्छु कि म अझै ठूलो भएको छैन र अझै भित्रबाट बच्चा हुँ । मलाई यी बच्चाहरूसँग काम गर्न रमाईलो लाग्यो ।’

सुहानी भटनागरको मृत्युको कारण उनको सम्पूर्ण शरीरमा तरल पदार्थ जम्मा भएको बताइएको छ । केही समयअघि दुर्घटनाका कारण उनको खुट्टा भाँचिएको थियो । उपचारका क्रममा लिइएको औषधिको साइड इफेक्ट देखियो र शरीरमा तरल पदार्थ जम्मा हुन थाल्यो । उनी लामो समयदेखि दिल्लीको एम्स अस्पतालमा भर्ना थिइन् । सुहानीको निधनको खबर आएपछि आमिर खान प्रोडक्सनले पोस्टमार्फत शोक व्यक्त गरेको छ । यो पोस्टमा लेखिएको छ कि ‘सुहानी सधैं हाम्रो हृदयमा एक तारा हुनेछिन् ।’

यसका साथै दंगलका निर्देशक नितेश तिवारीले पनि शोक व्यक्त गर्दै भनेका छन्, ‘सुहानीको निधन एकदमै स्तब्ध र दुःखदायी छ । उनी धेरै खुसी र भाग्यवान थिइन् । उनको परिवारमा मेरो गहिरो समवेदना छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७