एमालेले माग्यो यी तीन मन्त्रीको राजीनामा


२०८० फाल्गुण ६ आइतबार ०७:२१ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बहालवाला तीन मन्त्रीको राजीनामा मागेको छ । आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै एमाले सचेतक महेश बर्तौलाले भौतिक, पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको राजीनामा मागेका हुन् ।

गत पुस १३ गते ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटनामा भौतिक मन्त्री ज्वाला दोषी देखिएकाले राजीनामा दिनुपर्ने उनको भनाइ छ । ‘सरकारका मन्त्री दोषी भनेर किटान गरेको ३० घण्टा बित्दा समेत पदमै बहाल हुनुहुन्छ । सामान्य सिपाहीलाई कारबाहीको डन्डा अनि मन्त्रीलाई उन्मुक्ति यो हुन सक्दैन,’ सांसद बर्तौलाले भने ।

त्यस्तै, स्वास्थ्यमन्त्री बस्नेत पनि केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकाले उनले पनि पदबाट राजीनामा दिनुपर्ने एमालेको माग छ । ‘भ्रष्टाचारको आशंकामा केही समय अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर आएको घटना हामीले थाहा पायौं । भ्रष्टाचारको आशंका गरेको व्यक्तिलाई मन्त्रीको पदमा राखेर प्रधानमन्त्रीको सुगा रटाई भाषण सुन्न हामी तयार छैनौँ,’ बर्तौलाले भने ।

त्यस्तै, रामग्राम क्षेत्रमा नीजि कम्पनी खडा गरेर ९९ वर्षका लागि लिजमा दिने प्रयत्न भएको भन्दै त्यसको जिम्मेवारी पर्यटनमन्त्री किराँतीले लिनुपर्ने उनको भनाइ छ । लुम्बिनी क्षेत्र विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले यो विषयमा जिम्मेवार हुनुपर्ने उनले बताए । ‘केही समय अगाडि अन्तर्राष्ट्रिय क्षेत्रमा हामी उदांगो भएका छौँ । रामग्राम क्षेत्रमा घरबेटीका छोरालाई खुसी पार्न निजी कम्पनी खडा गरेर ९९ वर्षका लागि लिजमा लिएर दिने प्रयत्न गरियो । संसद्को लेखा समितितले त्यो प्रक्रिया अघि नबढाउन भन्यो। त्यो कोषका अध्यक्षले यो विषयमा जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?,’ विवादमा तानिएका मन्त्री नै पदमा बहाल हुँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने उनको भनाइ छ ।

‘यस्ता घटनामा दोषी देखिएका, आयोगले दोषी भनिएका, अख्तियारमा बयान दिएका मन्त्री पदमा बहाल हुँदा अनुसन्धान प्रक्रिया प्रभावित हुन्छन् । उहाँहरूको राजीनामा तत्काल माग गर्न चाहन्छु, उहाँहरूलाई तत्काल पदबाट बर्खास्ती गरियोस्,’ एमाले सांसद बर्तौलाले भने ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७