मुख्यमन्त्री यादवलाई एमालेले विश्वासको मत नदिने


६ फाल्गुन २०८०, आईतवार
saroj

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेकपा एमालेले विश्वासको मत नदिने भएको छ । मुख्यमन्त्री यादवको एक वर्षे कार्यकाल सन्तोषजनक नरहेको तथा मुख्यमन्त्रीलाई विश्वासको मत दिएको खण्डमा सभामा पाएको प्रमुख प्रतिपक्षी दलको भूमिका जाने भनेर एमाले बाध्यात्मक अवस्थामा पुगेको छ ।

अहिले मुख्यमन्त्रीलाई विश्वासको मत दिएर पनि एमाले सभामा प्रमुख प्रतिपक्षी दलको भूमिकामा छ । तर, मधेश सत्तागठबन्धनबाट जनमत पार्टी अलग भएपछि प्रमुख प्रतिपक्ष दल आफू पाउने दाबी गरिरहेको छ । यस्तो बाध्यात्मक अवस्थामा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने एमालेका एक सांसदले जानकारी दिए । नेकपा एमालेका संसदीय दलाका उपनेता दीपेन्द्र ठाकुरले अहिलेसम्म मुख्यमन्त्रीलाई विश्वासको मत दिने वा नदिने विषयमा निर्णय नभएको बताए ।

आज (आइतबार) दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा तेस्रोपटक मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । सत्तागठबन्धनमा भएको परिवर्तन तथा दलहरूले उनलाई दिएको समर्थन फिर्ता लिएपछि यादवले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रवाधान छ । गत ९ माघमा जनमत पार्टीले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएको थियो । सोहीकारण उनले आज विश्वासको मत लिन लागेका हुन् । एक सय सात सदस्यीय मधेश प्रदेश सभामा विश्वासको मतका लागि ५४ सांसदहरूको आवश्यकता पर्दछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७