इलाम–२ मा उपनिर्वाचनको चहलपहल : रणनीति बनाउँदै दलहरु, को–को छन् दौडमा ?


६ फाल्गुन २०८०, आईतवार
upa

इलाम । निर्वाचन आयोग रिक्त रहेका २३ तहको उपनिर्वाचनको मिति तय गर्ने अन्तिम तयारीमा छ । मिति तय गर्नेबारे राजनीतिक दल र सरकारसँग आन्तरिक परामर्शमा छ । संभवत बैशाखको पहिलो वा दोस्रो हप्ताभित्र उपनिर्वाचन सकिसक्ने आयोगको तयारी छ । राष्ट्रिय सभा निर्वाचन समापनसँगै आयोग उपनिर्वाचनमा जुटेको हो ।

उपनिर्वाचन हुने तहहरुमध्ये प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ धेरैको चासोको क्षेत्र बनेको छ । ठूला दलहरुले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठा र अस्तित्वसँग जोडेर हेरिरहेका छन् । निर्वाचन क्षेत्रमा लोकप्रिय उम्मेदवारको खोजीमा दलहरु ‘आन्तरिक सर्भे’ मा पनि जुटेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले मतदाताको मनोभावना बुझ्न केन्द्रीय तहबाटै नेताहरु परिचालन गरेर सर्भे गरिरहेको छ ।

उम्मेदवारमा आकांक्षा राख्नेहरुको अवस्था र मतदाताको मनोविज्ञान बुझ्न केन्द्रीय नेताहरु सक्रिय छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही साताअघि इलामै पुगेर सर्वेक्षणका आधारमा लोकप्रिय उम्मेदवार चयन गर्ने र कांग्रेस उम्मेदवारलाई विजयी गराइछाड्ने प्रतिक्रिया दिएका थिए ।

एमाले पनि मतदाताको सहानुभूति र लोकप्रियताका आधारमा उम्मेदवार चयन गर्ने तयारीमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी भने उपयुक्त उम्मेदवारको खोजीमा छ । उम्मेदवारको टिकट नपाएर असन्तुष्ट बनेका ठूला दलका नेता फकाएर आफ्नो उम्मेदवार बनाउने रास्वपाले रणनीति बनाएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसकै नेता उम्मेदवार बन्ने लगभग निश्चित छ ।

यद्यपि, उपनिर्वाचनको मिति घोषणा नहुँदै दलहरुले इलाम २ का गाउँहरुमा गतिविधि बढाएका छन् । भेला, सभा र कार्यकर्ता भेटघाटका कार्यक्रमहरु भइरहेका छन् । उपनिर्वाचनको मिति तोकेपछि चुनावी अभियान गर्ने समय छोटो हुने भएपछि नेताहरुले सक्रियता बढाएका हुन् । उम्मेदवारका आकांक्षीहरु टिकट फुत्काउन काठमाडौं–इलाम बराबरी दौडधुप गरिरहेका छन् । प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त बनेको हो ।

कांग्रेसको तयारी

२०५६ सालदेखि नेम्वाङ विजयी हुँदै आएको इलाम २ यसपटक कांग्रेसले जसरी पनि आफ्नो पोल्टामा पार्ने रणनीति लिएको छ । एमालेसँग झिनो मतान्तरले पराजय ब्यहोर्दै आएको कांग्रेस यस पटक विवेकपूर्वक उम्मेदवार चयन गर्ने र एकतावद्ध अभियानमार्फत आफ्नो उम्मेदवारलाई विजयी गराउने रणनीतिमा देखिन्छ । कांग्रेसबाट भेषराज आचार्य, डम्बर खड्का, केशव थापा र नगेन्द्र कुमाल उम्मेदवार बन्ने दौडमा देखिन्छन् ।

कांग्रेस इलामका पूर्वसभापति हिमालय कर्मचार्यले भने आफू उम्मेदवार नबन्ने तर पार्टीको उम्मेदवारलाई सहयोग गर्ने बताउँदै आएका छन् । २०७९ सालको निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले पराजित पार्टी सभापति समेत रहेका खड्का पुनः उम्मेदवार बन्ने दौडमा छन् । तर उनलाई यसपटक पार्टीबाट टिकट लिन त्यति सहज देखिएको छैन । निर्वाचनमा पराजयपछि आफ्नै दलका अग्रज नेताहरुलाई ‘भौतिक आक्रमण गर्ने र अनुशासनको कारवाही गर्ने’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका कारण उनी आलोचित छन् ।

पार्टी सभापति भएर अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको, जिल्ला कार्य समितिको पूर्ण बैठक एक बर्षदेखि राख्न नसकेको र ‘असहयोग गरेको’भन्दै आफ्नै नेता कार्यकर्तालाई सार्वजनिक कार्यक्रमहरुमा उत्तेजित भएर गाली गर्ने गरेका कारण खड्का साझा उम्मेदवार बन्ने संभावना न्यून देखिएको कांग्रेस नेताहरुको भनाइ छ ।

पछिल्लो समय स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा मंगलबारे बहुमुखी क्याम्पस र महेन्द्ररत्न बहुमुखी क्याम्पसमा गठबन्धन उम्मेदवारलाई धोका दिएको भन्दै माओवादी केन्द्र निकटका विद्यार्थीहरु खड्कासँग रुष्ट छन् । तर पार्टी सभापति भएकाले उनी बलिया उम्मेदवार हुन् । उनले चुनावी दौडधुप बढाएका छन् ।

नेपाली कांग्रेसको संगठन निर्माणमार्फत लोकप्रियता कमाएका, पटक पटक महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि रहँदै आएका आचार्य यस पटक जसरी पनि टिकट लिएर विजयी भईछाड्ने अभियानमा छन् ।

इलामका दुईवटा निर्वाचन क्षेत्र, चारवटा प्रदेशसभा, पालिका र वडा तहका पार्टी इकाइ एवम संरचनाहरुको बहुमत नेतृत्वमा आफ्नो ‘विचार समूह’का नेताहरुलाई स्थापित गराएको बताउँदै आएका आचार्यले जुनसुकै दलमा आस्थावान मतदाताको मत आफूले पाउने दाबी गरिरहेका छन् । ‘लो प्रोफाइल’मा बसेर संगठन निर्माणमा तीन दशकदेखि सक्रिय रहेको बताउँदै आएका आचार्य यस पटक आफूले टिकट पाउने र विजयी भएरै छाड्ने बताउँछन् । कांग्रेसबाटै पूर्वराज्यमन्त्री केशव थापा पनि चुनावी अभियानमा देखिन्छन् । कुनैबेला पार्टी दुई चिरा हुँदा शेरबहादुर देउवाको क्याम्पमा बसेर इलाममा संगठन निर्माणमा सक्रिय रहेका थापा लामो समयपछि फेरि संसदीय राजनीतिमार्फत सक्रिय हुने मनस्थितिमा छन् ।

तर केही बर्ष राजनीतिमा त्यति सक्रिय नदेखिएका थापा नयाँ पुस्तासँग घुलमिल नभएका कारण चुनाव जित्न निकै मेहेनत गर्नुपर्ने कार्यकर्ताहरु बताउने गर्छन् । आदिवासी जनजाती महासंघको पूर्वअध्यक्ष रहेका र समानुपातिकतर्फबाट सांसद भइसकेका नगेन्द्र कुमाल पनि टिकट फुत्काउने दौडाहामा छन् ।

कांग्रेसका जोसुकै उम्मेदवार भएपनि एकताबद्ध चुनावी अभियान संचालन नगरेसम्म इलाम २ आफ्नो पोल्टामा पार्न कठिन देखिएको छ । पार्टीको जिल्ला अधिवेशनमा खड्कालाई सभापतिमा सहयोग गरेका थापा र खड्काबीचको सम्बन्ध पछिल्लो समय विग्रिएकाले देउवा समूहमा विचलन देखिएको छ ।

जसको प्रत्यक्ष असर देउवा समूह र पार्टीभित्र पर्ने देखिन्छ । तर डा.शेखर कोइराला र महामन्त्री गगन थापाको समूहबाट निर्विकल्प उम्मेदवार मानिएका आचार्यले सबैलाई मिलाएर चुनाव जित्ने दाबी गरिरहेका छन् । उम्मेदवारहरुको जेजस्तो दाबी र आकांक्षा रहेपनि उम्मेदवार चयन गर्दा पार्टीले गुटगत वा पहुँचका आधारमा गर्नुनहुने कांग्रेसका पुराना नेता राजेन्द्र शर्माको धारणा छ ।

‘केन्द्रीय नेताहरुमा पहुँच पुर्याएका आधारमा, पटक पटक परीक्षण भइसकेका र मतदाताको मनोभावाना नबुझेका नेतालाई टिकट दिए पार्टीले ठूलो क्षति व्यहोर्नेछ,’ उनले भने,‘कांग्रेसले उम्मेदवार चयन गर्दा पार्टीका क्रियाशील सदस्यहरुको मतदानमार्फत चयन गर्दा राम्रो हुन्छ ।’ इलाम २ मा नयाँ दल र जातीय मतको प्रभाव कम रहेको उल्लेख गर्दै उनले कांग्रेस–एमालेले धेरै विवेक पुर्याएर मात्र उम्मदवार चयन गर्नुपर्ने बताउँछन् ।
एमालेको रणनीति

एमालेका बलिया र पुराना हस्ती सुवास नेम्बाङको निधनसँगै इलाम एमालेमा एक किसिमको रिक्तता छ । पार्टीमा लामो समय विताएका सक्रिय नेताहरु जिल्लामा रहे पनि चुनाव जित्ने उम्मेदवारको खडेरी जस्तै देखिएको छ । तर पनि आफ्नो विरासत जोगाउन एमालेले ठूलो कसरत गरिरहेको छ । कांग्रेसबाट कुन व्यक्ति उम्मेदवार बन्छ त्यसका आधारमा आफ्नो उम्मेदवार तय गर्ने रणनीतिमा एमालेको तयारी छ । एमालेबाट एमाले उपाध्यक्ष उदय राई, नेता जयप्रकाश राई, डा.देवी क्षेत्री दुलाल, प्रदेश सदस्य गणेश बराल, क्षेत्रीय इन्चार्ज बुद्धि खनाल र युवा नेता रवीन्द्र सुवेदी उम्मेदवार बन्ने दौडमा छन् । पछिल्लो समय नेम्वाङका छोरा सुहाङले पनि सक्रियता बढाएका छन् ।

जनजाती अनुहार प्रस्तुत गर्ने वा सहानुभूति क्यास गर्ने रणनीति बनाएको खण्डमा एमालेले राईद्वय र सुहाङलाई अघि बढाउने संभावना छ । नेम्वाङको स्वकीय सचिबका रुपमा करिब दुई दशक विताएका बुद्धि खनाल क्षेत्रीय इन्चार्ज समेत रहेकाले आफू जित्ने उम्मेदवार रहेको दाबी गर्दै आएका छन् ।

नेम्बाङको सचिवालयमा रहेर गाउँका मतदातासँग प्रत्यक्ष जोडिएकाले आफू बलियो उम्मेदवार रहेको खनालले बताउने गरेका छन् । त्यस्तै युवाहरुको मनोभावना तान्न रवीन्द्रले आफूलाई बलियो ठानेका छन् । बरालले भने प्रतिस्पर्धी दलका उम्मेदवारको अनुहारका आधारमा आफू उम्मेदवार बन्ने दाउमा छन् । देवी क्षेत्रीले आफू साझा उम्मेदवार रहेको दाबी गरिरहेका छन् ।
प्रगतिशिल लेखक एवम विश्लेषक डा.देवी क्षेत्री दुलाल इलाम २ मा उम्मेदवार चयन गर्दा यस पटक मिहीन ढंगले मतदाताको मनोभावना बुझ्नुपर्ने र विवेक पुर्याउन सुझाव दिन्छन् ।

‘पहिचान वा जातीय मुद्दाका सवालमा कोही अतालिनु पर्दैन् । तर नयाँ अनुहार वा सहानुभूति साथै लहडमा उम्मेदवार चयन गर्दा एमालेले ऐतिहासिक क्षति ब्यहोर्नसक्छ,’ डा.दुलालले भने,‘पुराना, सक्रिय र क्षमतावाना नेताहरुको योगदानलाई अपमानित गरेर पार्टीले उम्मेदवार चयन गर्नु हुँदैन् । इलाममा यतिबेला सहानुभूति र उत्तराधिकारी खोज्ने परिस्थिति छैन ।’ संगठन निर्माणमा सक्रिय, क्षमतावान र अवसर नपाएका लोकप्रिय उम्मेदवार चयन गर्न उनको सुझाव छ ।

रास्वपाको परीक्षण

पूर्वी पहाडका जिल्लामा आफ्नो संगठन विस्तार गर्ने उदेश्य लिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) यस पटक इलाम २ मा आफूलाई परीक्षण गर्ने दाउमा छ । उम्मेदवार खडेरीको सामना गरिरहेको रास्वपाले शुरुमा चर्चित बैंकर्स अनिल केशरी शाहलाई उम्मेदवार बनाउने चर्चा चलाएको थियो तर त्यो चर्चा हाल सेलाएको छ । महेन्द्र थापा, धर्म गौतम, एलिजा गौतमको पनि नाम चर्चामा छ । तर रास्वपाले ठूला दल निकट मतदाताको मत चोर्न सक्ने प्रशस्त संभावना छ । स्वतन्त्र उम्मेदवार बन्ने दाउमा पत्रकार मिलन लिम्बु पनि दौडाहामा देखिन्छन् ।
मुद्दा र मतदाता

इलाम क्षेत्र नम्बर २ विकासका दृष्टिकोणले केही पछाडि परेकाले विकासमा मुद्दालाई मतदाताले प्रमुख ठानेका छन् । त्यो बाहेक उम्मेदवारको व्यक्तित्वले उक्त क्षेत्रमा विशेष अर्थ राख्दै आएको छ । २०५६ सालयता विजयी हुँदै आएका दिवंगत नेम्वाङको ठाउँमा एमालेको अर्को उम्मेदवार हुनेवित्तिकै मतमा ठूलो अन्तर देखिने निश्चित छ । किरात धर्मगुरुको आर्शिवाद र जातीय मतलाई आफ्नो पक्षमा पार्दै आएको एमालेलाई यस पटक चुनाव जित्न त्यति सहज देखिएको छैन् । हाल सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसले साझा र लोकप्रिय उम्मेदवार तयार गरेको खण्डमा कांग्रेसले केही सहज अनुभूति गर्नेछ ।

इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् । गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले जितेको छ । इलाम नगरपालिकाको मेयर र चुलाचुली गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको थियो । २०४९ सालको स्थानीय निर्वाचनपछि पहिलो पटक इलाम नगरपालिकामा कांग्रेसले जितेपछि एमालेलाई ठूलो असर परेको छ ।

स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने इलाम–२ मा कांग्रेसले एमालेभन्दा चार सयभन्दा बढी मत ल्याएको थियो । कांग्रेसले ३२ हजार ९ सय ७८ मत पाउँदा एमालेले ३२ हजार ५ सय २७ पाएको थियो । माओवादीले २ हजार ७ सय १७, जसपाले ५ सय ५४, एकीकृत समाजवादीले २ सय ७७ र राप्रपाले १ सय ३० मत पाएका ल्याएका थिए ।
त्यस्तै, २०७९ मा भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २२ हजार ३ सय ३३, नेकपा एमालेले २६ हजार ५ सय ६२, माओवादी केन्द्रले पाँच हजार १ सय ५३, जनता समाजवादीले ९ सय ६, एकीकृत समाजवादीले ५ सय ८६ र स्वतन्त्रले ४ हजार ६ सय ८६ मत प्राप्त गरेका थिए ।

यस हिसाबले हालको सत्तारुढ गठबन्धनको मत बढी देखिन्छ भने स्वतन्त्रमा खसेको मत बाँडिन सक्ने देखिन्छ । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टीलगायतको पनि मत छ । प्रतिनिधि सभा निर्वाचन भएपनि उक्त क्षेत्रमा विकासका मुद्दाले पनि विशेष अर्थ राख्दै आएको छ । बहुपतिक्षीत आयोजनाहरु रवी–राँके सडक, इलाम–मंगलबारे सडक, जितपुर–सिद्धीथुम्का सडक, रतुवा खोला पुल, किरात धर्मगुरुको क्षेत्रमा माग गरेअनुसारको विकास नगरेको आरोप एमालेले खेप्दै आएको छ ।

कांग्रेस, रास्वपा, एकीकृत समाजवादी, राप्रपा जस्ता पार्टीहरु राज्यको जिम्मेवार ठाउँमा नपुगेकाले त्यो आरोपबाट जोगिएका छन् । पछिल्लो समय कोशी प्रदेशको नामकरणको विषय वा पहिचानको मुद्दा र दुर्गा प्रसाईंको अभियानले ठूला दलहरुलाई असर पारेको छ । त्यसमाथि एमाले त्यसको निसानामा छ ।

प्रदेश नम्बर १ लाई कोशी नामाकरण गर्ने सरकारको नेतृत्व एमालेले गरेको र प्रसाईंको उत्तेजित अभिव्यक्तिको निशानामा एमाले परिरहेकाले त्यसको असर मतदाताको मनोभावनामा पर्ने त्रास छ । कांग्रेस नेता शर्माकै बिचारलाई आधार मान्ने हो भने इलामबाट विजयी भएर राज्यको महत्वपूर्ण जिम्मेवारीमा पुगेका नेताहरुले विकास निर्माणका काममा प्रभावकारी भूमिक निर्वाह गर्न नसकेकाकाले उपनिर्वाचनमा त्यसको असर पर्ने देखिन्छ । विकासका मुद्दामा ठूला दलप्रति मतदाताको गुनासो छ । साना
दलहरुले राज्यको उपल्लो तहमा पहुँच पुर्याउन नसक्ने भएकाले विकासमा असर पर्ने मतदाताको बुझाइछ ।

विद्रोह र विग्रहको संकेत

इलाम २ मा कांग्रेस–एमालेकै दबदबा छ । जिल्लामा बसेर दशकौंदेखि संगठन विस्तार र राजनीतिक गतिविधिमा सक्रिय रहेका नेताहरुलाई उपेक्षा गरेको खण्डमा दुवै दलमा विद्रोह र विग्रहको संकेत समेत देखिएको छ । पार्टीमा अवसर नपाएको खण्डमा नेता व्यवस्थापन गर्ने सिलसिलामा राज्यका महत्वपूर्ण निकाय वा राजनीतिक नियुक्तिमा समेत हेपिएका इलामका नेताहरुमा उपनिर्वाचनपछि ठूलो विग्रह आउने देखिन्छ ।

कांग्रेसबाट चुनावी दौडाहमा रहेका थापा तीनवटा निर्वाचन क्षेत्र कायम रहँदा इलाम ३ बाट चार पटक चुनाव लडेर दुई पटक विजयी भएका थिए । उनले राज्यमन्त्रीको जिम्मेवारी पाइसकेका छन् भने कुमालले समानुपातिकतर्फबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरिसकेका छन् ।

त्यस्तै जिल्ला सभापति खड्काले नेविसंघको केन्द्रीय तहमा अवसर पाएपनि सदन प्रवेश गर्ने अवसर पाएका छैनन् । उनी प्रदेश सभा २ (क) बाट टिकट पाएर पराजित भएका थिए । आचार्यले जिल्लाको संगठन निर्माणमा तीन दशक विताएपनि पार्टीको केन्द्रीय र राज्यका निकायमा कुनैपनि अवसर नपाएको बताउँदै आएका छन् । उनी ०७० सालमा नेम्वाङसँग आमने सामने भएका थिए । त्यसबेला आचार्य नेम्वाङसँग पराजित भएका थिए ।

एमालेमा पनि नेम्वाङको उत्तराधिकारीका रुपमा छोरा सुहाङलाई अघि बढाएको खण्डमा पार्टीभित्र ठूलो विद्रोह आउनसक्ने अनुमान गरिएको छ । सुहाङ अघिबढे दशकौंदेखि दुःख गरेका पुराना नेताहरुको राजनीतिक भविष्य अन्त्य हुने त्रास बढेको छ । जसको असर उपनिर्वाचनमा पर्ने निश्चित छ । दुवै दलमा विग्रह र विद्रोहको संकेत देखा परे नयाँ दलहरुका उम्मेदवारहरुले मतदाताको मनोभावना जित्ने देखिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७