मेलम्चीमा भ्रष्टाचार गरेको भन्दै भीम उपाध्याय समेत तीन पूर्व सचिवसहित १८ जनाविरुद्ध मुद्दा


६ फाल्गुन २०८०, आईतवार
Bhim Upadhyaya

काठमाडौं । मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा नेपाल सरकारका तीन पूर्व सचिव र तीन जना विदेशीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पूर्व सचिवहरू सञ्जय शर्मा, भिम उपाध्याय र गजेन्द्र ठाकुरसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देविप्रसाद थपलियाले बताएका छन् । उनीहरु मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षको रुपमा भ्रष्टाचार मुद्दामा तानिएका हुन् । भ्रष्टाचार मुद्दा लाग्ने अन्यमा अर्थ मन्लयका तत्कालीन सहसचिव तथा मेलम्ची खानेपानी आयोजना विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल, बोर्ड सदस्य रुद्रसिंह तामाङ, बोर्ड सदस्य चन्द्रबहादुर थापा छन् ।

त्यस्तै मेलम्ची खानेपानी आयोजना विकास समितिका तत्कालीन कार्यकारी निर्देशकहरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेल, समितिका तत्कालीन लेखा उपसचिव मणिभन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल, लेखा अधिकृत रामचन्द्र न्यौपाने, निर्माणस्थलका इन्जिनियर तत्कालीन उपकार्यकारी निर्देशक भोजबिक्रम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

परामर्शदाता एप्टिसा– बेट्स जेभीका तत्कालीन डेपुटी टिम लिडर शिवकुमार शर्मा, निर्माण व्यवसायी एप्टिसा र बेट्स कन्सल्टिङ जेभी र अर्को निर्माण व्यवसायी सीएमसी डि रविनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७