मेलम्चीको भ्रष्टाचारमा माओवादी नेता थापाविरुद्ध पनि मुद्दा, ७१ करोड ५८ लाख बिगो दावी


२०८० फाल्गुण ६ आइतबार ०८:०६ बजे

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिको करिब सात अर्ब भ्रष्टाचार प्रकरणमा सत्तारुढ नेकपा माओवादी केन्द्रका एक केन्द्रीय नेताविरुद्ध पनि मुद्दा दायर भएको छ ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ निवासी माओवादीका वैकल्पिक केन्द्रीय सदस्य चन्द्रबहादुर थापा ‘किशोर’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य चन्द्रबहादुर थापाविरुद्ध अख्तियारले ७१ करोड ५८ लाख ३७ हजार ६ सय ४३ रुपैयाँ ९१ पैसा बिगो मागदाबीसहित मुद्दा चलाएको हो । मेलम्ची खानेपानी आयोजना निर्माण अघि बढेपछि सिन्धुपाल्चोकका प्रभावित क्षेत्रलाई ह्योल्मो सिन्धु मेलम्ची उपत्याका सामाजिक उत्थान कार्यक्रमका नाममा पठाएको बजेट हिनामिनामा उनी मुछिएका हुन् ।

उनी सशस्त्र संघर्षकालीन पुराना माओवादी नेता हुन् । मेलम्ची आयोजनाबाट प्रभावित क्षेत्रहरूका लागि गठित समितिको अध्यक्षका रुपमा थापाले करिब ६ वर्षसम्म काम गरेका थिए । त्यसपछि थापा मेलम्ची आयोजना प्रभावितहरूको तर्फबाट मेलम्ची खानेपानी आयोजना बोर्ड सदस्य बन्न सफल भएका थिए । त्यही बोर्ड सदस्यका रुपमा काम गरेका बेला थापामाथि ७१ करोड बढीको भ्रष्टाचार मुद्दा लागेको हो । उनी माओवादी सिन्धुपाल्चोक सेक्रेटरी समेत भइसकेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७