प्रचण्डलाई ओलीको प्रश्न : ७० वर्ष पुग्न लाग्नु भयो, कहिले सच्चिने हो ?


२०८० फाल्गुण ६ आइतबार ११:०४ बजे

कैलाली । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा भएको टिप्पणी गरेका छन् । नेकपा एमाले कैलालीको ९ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले वर्तमान सरकारप्रति खरो टिप्पणी गरेका हुन् । ‘यो निकम्मा सरकार हो, यसले केही काम पनि गर्न सक्दैन,’ उनले भने, ‘हामीले ३९६ वटा अस्पतालहरू हरेक पालिकामा हुनुपर्छ भनेका थियौं, कहाँ गए ती अस्पताल ?’ उनले सरकारले अहिलेसम्म कुनै गतिलो काम नगरेको आरोप लगाए ।

‘एउटा पनि देखाउन लायक काम प्रधानमन्त्रीले गर्नु भएको छैन । एक वर्ष पुग्दा भाषण गर्दा पनि हामी काम गर्छौं, सच्चिन्छौं भन्नु हुन्छ,’ ओलीले प्रचण्डलाई प्रश्न गरे, ‘७० वर्ष पुग्न लाग्नुभयो अहिलेसम्म नसच्चिएको कहिले सच्चिने हो ?’ अहिले मुलुक गम्भीर मोडमा रहेको उनको भनाइ थियो । उनले भने, ‘राष्ट्रियता कमजोर भएको छ । स्वाधीनता र स्वतन्त्रता कमजोर भएका छन्। तीनको संरक्षण गर्न सकिएको छैन । देशमा सुशासन छैन ।’ सरकारले गलत काममा संलग्नहरूलाई पनि कारबाही गर्न नसकेको ओलीले बताए ।

‘यो गरिबलाई हेप्ने, न्याय नदिने, बलियाका पक्षको सरकार हो, क्विन्टलको क्विन्टल सुन आएको देख्दा पनि यो सरकारले कारबाही गर्न सक्दैन, सरकार निरीह छ,’ ओलीले भने, ‘तस्कर हेर्दा आफ्नै मान्छे भेट्छ कारबाही गर्न सक्दैन ।’ ओलीले आफ्नो कार्यकालमा गरेका कामहरू अहिलेको सरकारले निरन्तरता नदिएको आरोप समेत लगाएका छन् ।

‘३÷४ हजार युवा हरेक दिन विदेश गइरहेका छन् । गाउँबस्तीहरु रित्तो भइरहेका छन् । सरकार हेरिरहेको छ । म प्रधानमन्त्री भएको बेला १८ प्रतिशतले बाहिर जानेहरूको संख्या बढेको थियो, उत्पादन वृद्धि भएको थियो । पूर्वाधारको विकास भएको थियो । एकै दिनमा २१० वटा पालिका सदरमुकाम जोड्ने सडक शिलान्यास गरेको थियो, आज ती सडकहरु अलपत्र छन् । ती आयोजना कहाँ गए ?’, उनले भने, ‘हामीलाई यो देशका सुशासन ल्याउनु छ, रोजगारीको अवसर सिर्जना गर्नुछ, जनताको जीवनमा परिवर्तन ल्याउनु छ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७