गगनलाई देउवाको जवाफ : भविष्यमा गठबन्धन गर्ने–नगर्ने विषय परिस्थितिमा भर पर्छ

‘संविधान संशोधनका लागि छलफल थालौं’


७ फाल्गुन २०८०, सोमबार
deuba

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भविष्यमा राजनीतिक गठबन्धन गर्ने/नगर्ने भन्ने विषय परिस्थितिमा भर पर्ने बताएका छन् । आज (सोमबार) ललितपुरको गोदावरीस्थित आयोजना गरिएको महासमिति बैठकमा बोल्दै देउवाले गठबन्धनको औचित्य, सान्दर्भिकता लगायत विषयको मूल्यांकन र छलफलपछि निर्णय गर्ने बताएका हुन् ।

congress mahasamiti
सभापति देउवा-उद्घाटन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको सोमबारदेखि ललितपुरको गोदावरी स्थित सनराइज सभाहलमा सुरुभएको महासमिति बैठकको उद्घाटन गर्दै । तस्बिर : किरणराज विष्ट/रासस

‘भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीले तत्कालीन परिस्थिति अनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतका विषयमा ठोस मूल्यांकन र छलफल गरी त्यसै बेलामा उचित निर्णय लिन सक्नेछ,’ देउवाले बैठकमा भने ।

कांग्रेसका महामन्त्री समेत रहेका गगनकुमार थापाले २०८४ मा कुनै पनि दलसँग गठबन्धन नगरी चुनाव लड्न यही महासमितिको बैठक पारित गर्नुपर्ने भनेर प्रस्ताव तयार गरेका छन् । त्यस विषयमा महामन्त्री थापा र सभापति देउवाबीच सोमबार बिहान बुढानिलकण्ठस्थित देउवा निवासमा बैठक समेत बसेको थियो । यद्यपि उनीहरूबीच सहमति नजुटेपछि बैठक फेरि बस्ने गरी स्थगित भएको थियो । बैठक महासमितिको उद्घाटन भएपछि बस्ने भनिएको थियो ।
‘संविधान संशोधनका लागि छलफल थालौं’
कांग्रेस सभापति देउवाले संविधान संशोधन गर्नेगरी छलफल प्रारम्भ गर्नुपर्ने बताएका छन् । महासमिति बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दै देउवाले संविधानको शासकिय स्वरुप, मुलभूत विषयमा प्रतिकूल प्रभाव नहुनेगरी संशोधनको छलफल सुरु गर्नुपर्ने बताएका हुन् ।

congress mahasamiti1
नेपाली कांग्रेसको सोमबारदेखि ललितपुरको गोदावी स्थित सनराइज सभाहलमा सुरुभएको महासमिति बैठकको उद्घाटन समारोहमा सहभागी पार्टी सभापति शेरबहादुर देउवा लगायत शिर्ष नेताहरु । तस्बिर : माधवप्रसाद घिमिरे/रासस

‘संविधान जारी भएको ८ वर्ष भएको छ । यसको कार्यान्वयनको क्रममा देखा परेका समस्या, जटिलता पहिचान गर्नुपर्ने भएको छ । संविधानले व्यवस्था गरेको शासकिय स्वरुप, मूलभुत विषयमा प्रतिकूल प्रभाव नहुनेगरी संविधानको संशोधन गर्नेगरी छलफल प्रारम्भ गर्नुपर्नेछ,’ देउवाले भने ।

उनले संविधानको शासकीय स्वरुप नेपाली कांग्रेसको मान्यता अनुसार नै रहेको दाबी गरे । ‘नेपालको वर्तमान संविधान नेपाली कांग्रेसको नेतृत्वमा भएको हो । संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रलाई संसदीय शासन प्रणाली सुनिश्चित गरेको छ । शासकीय स्वरुप नेपाली कांग्रेसको मान्यता अनुसार छ,’ उनले भने । संविधानको रक्षा र सार्थक कार्यान्वयन आजको मुख्य एजेन्डा भएको देउवाको भनाइ छ ।

‘नेपाली कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनमा पक्षमा दृढ छ । यो हाम्रो दायित्व पनि हो । यसै संविधानको उचित कार्यान्वयनले देशमा दिगो, शान्ति, सुशासन, विकास र समृद्धि ल्याउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौँ,’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७