धनराजको प्रश्न : टुप्पोमा बस्नेले मात्र कहिलेसम्म फल खाइरहने ?


२०८० फाल्गुण ७ सोमबार १०:४३ बजे

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गरेर जानुपर्ने विषय महासमिति बैठकबाट पारित गरिनुपर्ने बताएका छन् । आज (सोमबार) ललितपुरको गोदावरीमा सुरु महासमिति बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।

उनले पदाधिकारीले गरेका गल्तीलाई महासमितिले सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टीको सांगठनिक संरचना सुधार गर्ने अधिकार महासमितिले राख्ने उनले बताए । उनले भने, ‘भद्दा संरचनालाई हटाएर चुस्त बनाउनुपर्छ । मुसाले धेरै बच्चा जन्माउँछ । हात्तीले एउटा जन्माउँछ, तर त्यही शक्तिशाली हुन्छ ।’

कांग्रेसमा फेदमा बस्नेले दुःख गर्ने, टुप्पोमा बस्नेले मात्र खाने परिपाटीको अन्त्य गर्नुपर्ने आवश्यकता उनले औँल्याए । ‘हामी एक ठाउँमा उभिएर आर्थिक सुशासन कायम गर्नुपर्नेछ । यो हुन नसक्नु भनेको भ्रष्टाचार मौलाउनु हो । जबसम्म भुइँमा भएकालाई टुप्पोमा पुर्‍याउन सकिँदैन, तबसम्म केही गर्न सकिँदैन’, उनले भने ।

आर्थिक, सामाजिक, अन्तर्राष्ट्रियलगायत नीति बैठकमा प्रस्तुत गरिने उनले बताए । उनले आर्थिक नीति प्रजातन्त्र समाजवाद हुनुपर्ने र झुपडी र महलमा बस्नेलाई जोड्ने भनेको प्रजातान्त्रिक समाजवादले नै भएको जिकिर गरे । ‘कोरोनाका कारण अस्ताएको अर्थतन्त्र विस्तारै सकारात्मक दिशामा अघि बढिरहेको छ । परिवर्तनले अझै ह्वात्तै फड्को मार्न सकिएको छैन । यसमा क्रोनिक क्यापिटालिजम्ले हो कि भन्ने विषयमा बहस गरिनुपर्दछ’, उनले थपे, ‘क्रोनिक क्यापिटालिज्मका कारण आर्थिक सुशासन कायम गर्न सकिएको छैन । यसका विरुद्धमा महासमितिले एकमत भएर उभिएर समाधान लगेर जानु पर्दछ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७