रेशम चौधरी नाउपाको अध्यक्ष भएको जानकारी पुग्यो निर्वाचन आयोगमा


७ फाल्गुन २०८०, सोमबार
resham

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरी निर्वाचित भएको विवरण अध्यावधिक गर्न पार्टीले निर्वाचन आयोगलाई निवेदन दिएको छ ।

पार्टीले माघ २९ गते अध्यक्षमा रेशम चौधरी सर्वसम्मतले चयन भएको भन्दै विवरण अध्यावधिक गर्न आयोगलाई निवेदन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । उनका अनुसार उक्त निवेदन दर्ता पनि भइसकेको छ । यद्यपि उक्त निवेदनमाथि आयोगले कुनै निर्णय लिइसकेको छैन ।

‘उहाँहरूले राजनीतिक दलसम्बन्धी ऐनअनुसार अध्यक्ष चयन भएको ३० दिनभित्र अध्यावधिक गराउन निवेदन दिनुपर्ने काम पूरा गर्नु भएको छ । हामीले निवेदन दर्ता गरेका छौं,’ उनले भने, ‘तर उक्त निवेदनमाथि आवश्यक निर्णय भइसकेको छैन ।’

उनका अनुसार रेशम चौधरी अध्यक्ष भएकोविरूद्ध दुई वटा उजुरी समेत परेका छन् । दुबै उजुरी बेनामे भएको र देशभक्त नागरिकहरू भनेर सम्बोधन गरिएको छ । त्यसमा उठाएका विषयहरूबारे पनि आयोगले विचार गर्नुपर्ने प्रवक्ता पौडेलले बताएका छन् । ‘उजुरीकर्ताहरूलाई पनि जवाफ फर्काउनु पर्ने होला । अध्यक्षजीलाई नै पनि कतिपय प्रश्न सोध्नुपर्ने होला । त्यसैले अहिलेलाई यो निवेदन विचाराधीन छ’, उनले भने ।

गत पुस २७ गते कैलालीको टीकापुरमा भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनले रेशम चौधरीलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको थियो । त्यसअघि उनकै श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष थिइन् । उक्त अधिवेशनपछि श्रेष्ठ सहअध्यक्ष मनोनीत भएकी थिइन् । श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत हुन् । टीकापुर घटनामा जन्मकैद सजाय जोगिरहेका रेशम चौधरीलाई गणतन्त्र दिवसको दिन राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर गत जेठ १७ गते कारागारबाट रिहा भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७