देशलाई हिंसाको दुष्चक्रमा होम्नेहरु सत्तामा छन्, पीडितले न्याय पाउन कठिन छ : पूर्व राष्ट्रपति भण्डारी


२०८० फाल्गुण ७ सोमबार ११:०३ बजे

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पीडितलाई केन्द्रबिन्दुमा राखेर शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पुरा गर्न सरकार र सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताएकी छन् ।

आज (सोमबार) काठमाडौँमा नेपाल मानव अधिकार अधिकार वर्ष पुस्तक–२०२४ को विमोचन कार्यक्रममा बोल्दै उनले हिजो देशलाई हिंसाको दुष्चक्रमा होम्ने सत्तापक्ष र विद्रोही पक्ष भएर नेतृत्व गर्नेहरु नै आज सरकारको नेतृत्व गरिरहेको बिडम्बनापूर्ण अवस्थामा यो देशले र निर्दोष पीडितहरुले कसरी न्याय पाउन सक्छन् ? भन्ने गम्भीर प्रश्न तेर्सिएको भन्दै चिन्ता पनि व्यक्त गरेकी छन् ।

उनले संक्रमणकालीन न्याय जस्तो संवेदनशील विषयलाई कसैले पनि राजनीतिक स्वार्थ सिद्ध गर्न माध्यम बनाउन नहुने पनि बताइन् । पूर्व राष्ट्रपति भण्डारीले हिंसाको दुष्चक्रमा पुर्‍याउने प्रमुख दोषी को हो भनेर निष्पक्ष र निर्भयका साथ मूल्यांकन गर्दा मात्रै सिंगो देशले न्याय पाउने पनि स्पष्ट पारिन् ।

उनले विद्यमान राजनीतिक अस्थिरता, भ्रष्टाचार, दण्डहिनता र सुशासनको अभावजस्ता विसंगतिहरुका कारण मानव अधिकारसम्बन्धी प्रावधानहरुको प्रभावकारी कार्यान्वयन अझै पनि नेपालका लागि चुनौतीको विषय रहेको बताइन् ।
पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘मुलुकमा विद्यमान राजनीतिक अस्थिरता, भ्रष्टाचार, दण्डहिनता र सुशासनको अभाव जस्ता विसंगतिहरुका कारण मानव अधिकारसम्बन्धी प्रावधानहरुको प्रभावकारी कार्यान्वयन अझै चुनौतीहरु बाँकी छन् । सशस्त्र द्वन्द्वको अवधिमा भएका मानव अधिकार उल्लंघनका पीडितहरुले बृहत् शान्ति सम्झौता भएको १८ वर्ष बितिसक्दासमेत अझै न्याय पाउन सकेका छैनन् । आफ्नो छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै अनसनमा बसेकै अवस्थामा मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवको दाहसंस्कार आजसम्म हुन नसकेको विषयले पनि देशको संक्रमणकालीन न्यायको अवस्थालाई उजागर गरिरहेको छ । यस प्रकारको संवेदनशील विषयलाई कसैले पनि आफ्नो स्वार्थ साँध्ने माध्यम बनाइनु हुँदैन। पीडितलाई केन्द्रबिन्दुमा राखेर शान्ति प्रक्रियाका बाँकी कामहरुलाई यथाशीघ्र सम्पन्न गर्नेतर्फ सरकारसहित सरोकारवालाहरुको ध्यान जानु पर्दछ ।’

उनले थपिन्, ‘तर बिडम्बनाको कुरा के छ भने हिजो देशलाई हिंसाको दुष्चक्रमा होम्ने सत्तापक्ष र विद्रोही पक्ष भएर नेतृत्व गर्नेहरु नै आज सरकारको नेतृत्व गरिरहेको अवस्थामा यो देशले र निर्दोष पीडितहरुले कसरी न्याय पाउन सक्छन् भन्ने गम्भीर प्रश्न हाम्रो अगाडि तेर्सिएको छ । यो देश नेपाललाई हिंसाको दुश्चक्रमा पुर्‍याउने प्रमुख दोषी को हो ? निष्पक्ष र निर्भयका साथ मूल्यांकन गर्न सक्नुपर्छ, तबमात्र देशले न्याय पाउनेछ । यस प्रसंगमा म एउटा कुरा स्मरण गर्न चाहन्छु– स्वयम्भूको दुई आँखाले न्याय, अन्याय छुट्टयाई हेर्छ भन्ने हाम्रो ज्ञानको उक्तिलाई मानव अधिकारवादीहरुले सार्थक बनाउन सक्नु हुनेछ भन्ने मेरो विश्वास छ ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७