सेनाको संभार विभागमा छिर्न जर्नेल देउजाको ‘दाउ’, पद सम्हालेको छैन ठेकेदारसँग ‘सुटुक्क’ भेट


२०८० फाल्गुण ८ मंगलबार १०:३२ बजे

काठमाडौं । नेपाली सेनाको संभाररथी विभाग सबैको रोजाइमा पर्दछ । यहाँ पुग्नका लागि निकै ठूलो संघर्ष र शक्ति प्रयोग गर्नुपर्छ । सेनाको सबै बन्दोबस्तीका सामान खरिद गनेए भएकाले पनि संभार विभागमा सबैको आँखा पर्ने गरेको छ । सेनामा संभार विभाग रोजाइमा पर्नुको मुख्य कारण यहाँभित्रको चलखेल पनि भएको स्रोत बताउँछ । संभार विभागमा हुने गरेका चलखेलका घटना बेलाबेला बाहिर आउने गरेको छ ।

मन्त्रिपरिषद्को आइतबारको निर्णय अनुसार नेपाली सेनाका तीन जना सहायक रथीलाई उपरथीमा बढुवा गरेको छ । सैनिक मुख्यालयले सहायक रथीत्रय अनुपजंग थापा, सुनिल श्रेष्ठ र प्रकाश देउजालाई बढुवा सिफारिस गरेको थियो । बढुवा हुना साथ उपरथी प्रकाश देउजालाई संभार रथी विभागमै पदस्थापन गर्ने चलखेल शुरु भएको छ । देउजा संभार रथी विभागमै सहायक रथीका रुपमा काम गरेर उपरथी बढुवा भएका हुन् । रक्षा मन्त्रालयको प्रस्तावमा सरकारले उनीहरूको बढुवा गरेको हो । थापा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, श्रेष्ठ मध्यपश्चिम पृतना र देउजा सैनिक मुख्यालयमा कार्यरत छन् ।

संभार रथी विभागका प्रमुख उपरथी बिष्णु राउत छन् । संभार रथी विभागले सेनाको सबै बन्दोबस्तीका सामान खरिद गर्छ । संभारका प्रमुख राउत भए पनि सबै चलखेल देउजाले नै गर्दै आएका थिए । संभारको आकर्षण देखेरै देउजा त्यहीँ पदस्थापन हुने दाउमा छन् । उनले संभारमै पदस्थापन हुनका लागि वातावरण मिलाउन बढुवा नहुँदै २०८० माघको अन्तिम साता ठेकेदार राजमान मिश्रलाई भेटेको गरेको स्रोतले जानकारी दिएको छ ।

यसअघिका संभाररथी विभाग प्रमुख प्रदीपजंग केसी पनि देउजालाई सेनाको खरिदको हाकिम बनाउन लागेका छन् । संभाररथी प्रमुख हुँदा एमआई १७ हेलिकोप्टर मर्मत गर्ने कम्पनी छनोटका क्रममा अनियमितता गरेको काण्ड सार्वजनिक भएपछि केसीको सरुवा भएको थियो । त्यसपछि संभार प्रमुखमा राउत आएका थिए । देउजा यहाँको सेकेण्ड म्यान । प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल ६ महिना पनि बाँकी नभएको अवस्थामा उपरथी केसीले पनि देउजालाई संभारमा ल्याउन ठूलो बल लगाइरहेको स्रोतको भनाइ छ ।

केसी संभारको प्रमुख हुँदा ठेकेदारहरु जलेश्वर पौडेल र राजमान मिश्रले सेनाका ठेक्कामा प्रवेश पाएका हु्न् । केसी सरुवा भएपछि उनले नै देउजासँग ठेकेदार पौडेल र मिश्रसँग भेट गराइ दिएका हुन् । दुई बर्षअघि गोर्खा ह्याटको ठेक्का लिएर बुझाउन नसकेपछि राजमान मिश्रको जेएमबीडी कालोसूचीमा परेको थियो । कालोसूचीबाट फुकुवा हुनासाथ उपरथी केसीले संभारको प्रमुख हुँदा मिश्रलाई सेनाको ठेक्कामा प्रवेश गराएका थिए । केसीको सरुवा भएपछि उनैमार्फत मिश्र र पौडेलसँग देउजाले लाइन मिलाएका थिए ।

सेनाको संभारथी विभागले यसअघि स्वदेशी कम्पनीबाट उत्पादित जुत्ता नलिएर कमिसनको सेटिङमा चाइनिज जुत्ता ल्याउने गरी ठेक्का दिएपछि आलोचित भइरहेको छ । सेनाले २०७६–०७७ सालमा स्पोर्टस जुत्ताको टेण्डर चाइनिज जुत्ताको नमूना हाल्ने कम्पनीलाई दिएको थियो । चाइनिज स्पोर्टस जुत्ता गुणस्तरहिन र कमजोर भएको भन्दै सेनाभित्र नै विवाद भएपछि नेपालमै उत्पादित गोल्डस्टार जुत्ता खरिद गर्दै आएकोमा यो बर्ष कमिसनको लोभमा चाइनीज स्पोर्टस जुत्ता खरिद गर्ने निर्णय गरेको छ । जुत्ता खरिदमा देखिएको यो चलखेलले पनि सेनाभित्र सामान खरिदमा हुने गरेको सेटिङलाई उजागर गर्दछ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७