विष्णुमति करिडोरका अवैध संरचनामा चल्यो डोजर


८ फाल्गुन २०८०, मंगलवार
bisnumati koridor

काठमाडौं । काठमाडौंको टोखास्थित विष्णुमति नदी आसपासमा अवैध रूपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना मंगलबार बिहान डोजर लगाएर हटाएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर हटाइएर्को जानकारी दिए । टोखाले सार्वजनिक जग्गा संरक्षण गर्नका लागि वडा नं ४ का वडाअध्यक्ष धर्मेन्द्र श्रेष्ठको संयोजकत्वमा ‘सार्वजनिक जग्गा संरक्षण समिति’ निर्माण गरी सार्वजनिक जग्गा मिचेर अवैध रूपमा निर्माण गरिएका संरचना हटाएको हो ।

उक्त समितिले आज टोखा नगरपालिका–८ स्थित फ्लोरोसेन्ट स्कुल अगाडि निर्माण गरिएका संरचना हटाएको नगरपालिकाका उपप्रमुख मुरारी तामाङले जानकारी दिए । उनले टोखाभित्रको सार्वजनिक सम्पत्ति संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताए । नगरपालिकाले पहिलो चरणमा मनोरथ तीर्थदेखि टोखा प्रहरी चौकीसम्म विष्णुमति करिडोर आसपासमा निर्माण गरिएका संरचना हटाउने बताएको छ ।

नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखावासीलाई विष्णुमति करिडोरबाट आवतजावत लागि सहज होस् भन्ने उद्देश्यले डोजर लगाइएको बताए । टोखाभित्र एक हजारभन्दा बढी रोपनी सार्वजनिक जग्गा अतिक्रमण भएको भन्दै यसलाई संरक्षण गर्ने योजना नगरपालिका लागेको बताए । संरचना हटाउने क्रममा स्थानीयले अवरोधसमेत गरेका थिए। फ्लोरोसेन्ट स्कुल आसपासमा नदीको किनारा आसपासमा घर बनाएर बस्दै आएका स्थानीयले नगरपालिका र प्रहरीलाई ढुंगामुढासमेत गरेका थिए। नगरपालिकाले केहीदिन अघि सूचना जारी गरेर सार्वजनिक जग्गामा बनेका संरचना हटाउन नगरवासीलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७