महामन्त्री शर्माले महासमितिमा पेश गरेको प्रतिवेदनमा मन्त्रीहरूको आलोचना


२०८० फाल्गुण ८ मंगलबार ०७:०० बजे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकमा मन्त्रीहरूको आलोचना गरेका छन् । आज (मंगलबार) गोदावरीको सनराइज हलमा जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दै उनले कांग्रेसका मन्त्रीहरूको आलोचना गरेका हुन् ।

उनले पार्टीबाट सहभागी केही मन्त्रीले सरकारमा गएर प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । ‘जनअपेक्षा अनुसार सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ । कांग्रेसका केही मन्त्रीको कार्यसम्पादन सन्तोषजनक निश्चय छ । तर, केही मन्त्रीको भूमिका मन्त्रीको रूपमा प्रभावकारी बिल्कुलै देखिएको छैन,’ प्रतिवेदनमा शर्माले लेखेका छन् ।

त्यस्तै चीन र भारतसँग सरकारले कूटनीतिक संवाद गरी प्रयोगविहीन रहेका दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा ल्याउनुपर्ने पनि धारणा उनले राखेका छन् । अर्बौंको ऋण लिएर बनाइएका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगबिहीन बन्दा आर्थिक भारमा मुलुक फसेको उनले उल्लेख गरेका छन् ।

‘अर्बौंको ऋण लिएर हामीले बनाएका दुई अन्तर्राष्ट्रिय विमानस्थल एक ढंगले प्रयोजनहीन अवस्थामा छन् । मुलुकको अर्थतन्त्रतले चुनौती सामना गरिरहेको बेला विमानस्थलहरूको यो अवस्था हाम्रा लागि बिल्कुलै सुखद् छैन,’ महामन्त्री शर्माले प्रतिवेदनमा लेखेका छन्, ‘यस्तो समयमा बलियो राजनीतिक र कूटनीतीक इच्छाशक्ति अपेक्षित छ । जसमार्फत उत्तर र दक्षिणका दुबै मित्र राष्ट्रसँग हामीले सार्थक व्यवसायिक संवाद गर्न सकौं ।’
‘गठबन्धन विगतले बोकाएको अभिभारा’
महामन्त्री शर्माले जारी महासमिति बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । शर्माले प्रतिवेदनमा लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएको उल्लेख गरेका छन् । महामन्त्री शर्माले भने, ‘संघर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधान नै सबै चुनौती हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पु¥याउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट छ ।’

महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण सहयात्रा भएको उल्लेख गरेका छन् । ‘पटक–पटकको संसद् विघटन र संविधानको रक्षका लागि मुख्य दलहरू गत निर्वाचनमा एक भएर मैदानमा होमिएका थिए । त्यो गठबन्धनबाट उपलब्धि हासिल भएको छ, तैपनि असन्तुष्टि र चुनौती बढ्दै गएको देखिन्छ,’ उनले भने । प्रतिवेदनमा महामन्त्री शर्माले हालको गठबन्धन आगतको सम्झौता नभई विगतले बोकाएको अभिभारा भएको उल्लेख गरेका छन् । एकल बहुमत कसैको नभएको संसदमा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभार कांग्रेसको रहेको बताए ।

महामन्त्री शर्माले सरकारको प्रभावकारिता र कमजोरीमाथि खुलेर छलफल गर्नुपर्ने र कांग्रेसले सम्हालेका मन्त्रालयको प्रगति र कमजोरीको पनि समीक्षा गर्नुपर्ने बताएका हुन् । ‘वर्तमान अवस्थामा नेपाली समाजमा देखिएका असन्तुष्टि र पीडाको पहिचान यही समाजले बनाएको सबैभन्दा ठूलो दलको महासमिति बैठकले गर्नुपर्छ र त्यसलाई क्रमशः समाधान गरेर जाने संकल्प र दृढता राख्नुपर्छ,’ उनले लेखेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७