‘टीआरसी विधेयक पीडितमैत्री हुनुपर्ने अडानका कारण राष्ट्रियसभा निर्वाचनमा एक्लिनु पर्‍यो’


२०८० फाल्गुण ८ मंगलबार ०८:०२ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) पीडितमैत्री हुनुपर्छ भन्ने अडान नछोडेका कारण राष्ट्रियसभा निर्वाचनमा एक्लिनु परेको बताएका छन् ।

आज (मंगलबार) बाट पार्टी मुख्यालय च्यासलमा शुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले राष्ट्रियसभा निर्वाचनअघि नै टीआरसी विधेयक पारित गरौँ भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाको पटक–पटकको प्रस्तावमा सो विधेयक पीडितमैत्री हुनुपर्ने आफूहरूको अडानका कारण अघि बढ्न नसकेको दाबी समेत गरे ।

अध्यक्ष ओलीले पीडितलाई मन्जुर हुने बित्तिकै टीआरसी विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको बताए । उनले सो विधेयक दाहाल र देउवाकै कारण १८ वर्षसम्म टुंगोमा पुग्न नसकेको जिकिरसमेत गरे । उनले सधैँका लागि अन्त्य हुने गरी आफ्नो पार्टीले टीआरसी विधेयक टुंगो लगाउनुपर्छ भन्ने मान्यता लिएको बताए ।

‘एक पटकका लागि र सधैँका लागि यसको अन्त्य गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो । म यो प्रसंग राष्ट्रियसभाको सदस्यका केही पदहरूसँग साँटने होइन, देखाउने त्यो पदहरू र हामीलाई यो काम चाहिँ गराइहाल्ने, हामी केही पदका लागि आफ्नो अडान छोडौँ । दृष्टिकोण छोडौँ, नीति छोडौँ । पछि उही हो– सम्झाउन सकिएन साथीहरूलाई, मानेन के गर्ने ?’ उनले भने । अध्यक्ष ओलीले कोशी प्रदेशमा राप्रपासँग मिलेर चुनावमा जाँदा आफ्नो पार्टीले राष्ट्रियसभा निर्वाचनमा एक सिट जितेको पनि स्मरण गरा ए।
‘नैतिकता नभएका मन्त्री, हुतिहारा प्रधानमन्त्री’
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १३ गते ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा आयोगले दोषी करार गरेका व्यक्तिलाई मन्त्रीबाट नहटाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आलोचला गरेका छन् ।

एमाले केन्द्रीय समिति बैठकलाई मंगलवार सम्बोधन गर्दै ओलीले आफैले बनाएको आयोगले दोषी करार गर्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘छानबिन आयोगले मन्त्री दोषी हो भनिसक्यो । न मन्त्रीले राजीनामा गर्छन्, न प्रधानमन्त्रीसँग कारबाही गर्ने हुती छ । नैतिकता नभएका मन्त्री र हुतिहारा सरकार छ’ उनले भने, ‘आफैले बनाएको आयोगले दोषी करार गरेको छ, जुन दोषका कारण मान्छे मरे, प्रहरी कारबाहीमा परे । तर मन्त्रीले राजीनामा गर्नु नपर्ने ? गठबन्धनले यही गरेको छ, लोकलाज हाँसेको छ ।’ एमालेले यसअघि नै संसद्मै प्रकाश ज्वालाको राजीनामा माग गरिसकेको छ । पुस १३ गते बालकुमारीमा कोरिया जान नपाएका युवाले गरेको प्रदर्शनमा मन्त्रीको गाडी पुग्दा झडपको स्थिति आएको थियो । त्यसक्रममा प्रहरीको गोली लागि दुईजना युवाको मृत्यु भएको थियो भने मन्त्रीको गाडी जलाइएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७