पोखरा वडा नम्बर–२१ का अध्यक्ष सुवेदी आठ लाख धरौटी बुझाएर छुटे लगत्तै पक्राउ


२०८० फाल्गुण ८ मंगलबार ०६:५६ बजे

पोखरा । पोखरा महानगरपालिका–२१ का अध्यक्ष दीपकप्रसाद सुवेदी मंगलबार आठ लाख धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ परेका छन् । उनलाई पोखराको बैदामबाट कास्की प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको जनाएको छ ।

मित्र मिलन सहकारी ठगी प्रकरणका प्रतिवादी वडाध्यक्ष सुवेदी लामो समयसम्म फरार रहेकोमा मंगलबारमात्र कास्की जिल्ला अदालत हाजिर भएका थिए । उनलाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । उनीमाथि मिटरब्याजी कारोबारी र राजस्व छली गरेको अभियोग छ ।

तर त्यसलगत्तै वडाध्यक्ष सुवेदीलाई शान्ति केसीको जाहेरीका आधारमा ठगी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए । पोखरा नयाँबजारस्थित मित्रमिलन सहकारी ठगी मुद्दा जिल्ला अदालतमा विचाराधीन छ ।

सहकारी ठगी अभियोगमा ३३ जना प्रतिवादीविरुद्ध पक्राउ पुर्जी काटिएकोमा हालसम्म अदालतले वडाध्यक्ष सुवेदीसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । ६ जना पुर्पक्षका लागि कारागारमा रहेकोमा बाँकी फरार छन् । जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीविरुद्ध कानुनबमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७