केएल दुगड उद्योगको बदमासी : कम तौलको चामल र चिउरा बेचेर ठग्दै उपभोक्ता


२०८० फाल्गुण ८ मंगलबार ०७:३३ बजे

नेपालगञ्ज । बाँकेको पिपरहास्थित केएल दुगड उद्योगअन्तर्गत रहेको फुड प्रोडक्ट प्रालिले कम तौलको उत्पादन बजारमा उपभोक्ता ठगिरहेको पाइएको छ ।

उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति एवम् पूर्वमन्त्री अब्दुल खानसहितको टोलीले बाँकेका विभिन्न उद्योगको निरीक्षण अनुगमन गर्ने क्रममा उक्त उद्योगको बदमासी बाहिरएको हो । अनुगमन र निरीक्षणका क्रममा बाँकेको पिपरहास्थित केएल दुगड उद्योगअन्तर्गत रहेको फुड प्रोडक्ट प्रालिले तौल कम गरेर खाद्यान्न बजारमा पठाउने गरेको पाइएको समितिका सभापति खानले बताएका छन् । उनले सो उद्योगमा निरीक्षण गर्दा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि नियम बमोजिम जरिवाना र आवश्यक कारबाही गरिने जानकारी दिए ।

अनुगमनका क्रममा केएल दुगडले उत्पादन गरेको २० किलो चिउराको बोरामा १८÷१९ किलो र ५० किलो अरुवा चामलको बोरामा २०० ग्राम तौल कम राखेर बिक्री गर्दै आएको पाइएको सभापति तथा पूर्वमन्त्री खानले जानकारी दिए । उनले भने, ‘‘सर्वसाधारण नागरिकको स्वास्थ्यसँग खेलबाड गर्नेगरी खाद्यवस्तु बिक्री गर्ने, तौल कम गरेर उपभोक्तालाई ठग्ने जति ठूला उद्योगी–व्यापारी भए पनि समितिले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गर्नेछ ।’

केएल दुगडका केही कर्मचारीहरूले सभापति खानलाई अनुगमन गर्नमा केही समय अवरोध गरेपछि प्रहरीको सहयोगमा उद्योगभित्र अनुगमन गर्दा कम तौलको समस्या देखापरेको सभापति खानका निजी सचिव अतिउल्ला मुसलमानले जानकारी गराएका छन् ।

यस्तै सभापति खानले बाँकेको गनापुरमा रहेको औषधि उत्पादन गर्ने उद्योग पानस फर्मास्युटिकल र अम्बे स्टिलको समेत अनुगमन गरी उद्योगहरूमा काम गर्ने मजदुरहरूको समस्या र पारिश्रमिकका विषयमा छलफल गरेका थिए । अम्बे स्टिलमा काम गर्ने मजदुरहरूले समयमा पैसा पाउन नसकेको गुनासो सभापति खान समक्ष गर्नुका साथै सुरक्षा उपकरणहरू समेत कम्पनीले उपलब्ध नगराउँदा जोखिम मोलेर काम गर्नु परेको पीडा सुनाएका थिए । ती समस्या समाधान गर्न उद्योगमा उपलब्ध कर्मचारीलाई सभापति खानले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७