काजीको भेटियो भिडियो सन्देश : श्रीमती, छोरी र नातिनीको हत्या गरी छोरालाई खिचाए भिडियो


२०८० फाल्गुण ९ बुधबार ०७:३६ बजे

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६ भैरव टोलमा श्रीमती, छोरी र नातिनीको हत्या गरेका काजी भनिने राजु विश्वकर्माले आत्महत्याअघि भिडियो सन्देश छाडेको फेला परेको छ ।

उनले आफ्ना १४ वर्षका छोरा अनिश श्रेष्ठलाई उनकै मोवाइलबाट भिडियो खिचाएर हत्या गर्नुको कारण खुलाएका छन् । काजीले आज (बुधबार) बिहान श्रीमती ३९ वर्षीया ईश्वरी श्रेष्ठ, आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षकी नातिनी शिवानी श्रेष्ठको हत्या गरेका थिए । हत्यापछि उनले छोरा अनिशलाई मोवाइलबाट भिडिओ खिच्न लगाएको प्रहरीले भेट्टाएको हो । प्रहरीले अहिले उक्त भिडियोको अनुसन्धान गरिरहेको छ । परिवारका तीन जनाको हत्या गरेका काजीले घर नजिकै झुण्डिएर आत्महत्या गरेका थिए ।

उनले भिडियोमा बुहारी जेनी श्रेष्ठसँग गुनासो गर्दै आउँदा दिनमा छोरासँग मिलेर बस्न र आफ्नो छोरा अनिशलाई हेला नगर्न भनेका छन् । उनले भिडियो सन्देशमा श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेका कारण हत्या गरेको बताएका छन् । यसबारेमा बुहारी जेनीलाई पहिल्यै थाहा भए पनि आफूलाई नभनेका कारण घटना घटाउने अवस्थामा आफू पुगेको बताएका छन् ।
बुधबार विहान बुहारी जेनी काममा गइसकेकी थिइन् । कक्षा ७ मा पढ्ने छोरालाई बिहान ७ः४० बजेतिर गोलामारी किन्न पठाए । पसलबाट फर्किएर गेटमा पुग्ने वित्तिकै उनलाई बुबाले ‘ममी मरिसकें, सबै मारिसके’ भनेका थिए ।

किन यस्तो गरेको भन्दै कराउन थालेपछि धकेलेर आफूलाई भिडियो खिच्न लगाएको उनले बताएका छन् । उनको मोबाइलमा छोटो छोटो भिडियो क्लिप पनि भेटिएको छ, जसमा काजीले श्रीमतीमाथि केही आरोप लगाएका छन् भने आफ्नो सम्पत्तिबारे पनि भनेका छन् । श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेका कारण हत्या गरेको काजीले भिडियो सन्देशमा बताएका छन् । यसबारेमा बुहारी जेनीलाई पहिल्यै थाहा भए पनि आफूलाई नभनेका कारण घटना हुन पुगेको उनले बताएका छन् ।

उनले विभिन्न बैंकमा बचत रहेको आफ्नो पैसाबारे पनि भिडियो सन्देशमा भनेका छन् । अनिशलाई चाबी र कागजपत्र जिम्मा दिएको छु । अनिशबाट तैंले लिनु, कसैलाई पनि नदिनु चाबी । सुन सबै दराजमै छ । एकचोटी मात्रै अनिशलाई हेला गरेको देखें भने तलाई पनि राम्रो हुँदैन ।’ विदेशमा रहेका छोरा (श्रीमतीको पहिलो पतितर्फ) लाई सम्बोधन गर्दैै उनले भिडियोमा भाइलाई हेंला गरेको थाहा पाए राम्रो नहुने’ समेत बताएका छन् । ईश्वरी श्रेष्ठ र काजी विश्वकर्माले १८ वर्ष पहिले प्रेम विवाह गरेका थिए । काजीसँग विहे गर्नुअघि नै ईश्वरीले पहिलेका श्रीमानसँग सम्बन्धबिच्छेद गरेकी थिइन् ।

पहिलेका श्रीमानबाट जन्मिएका छोरा हुन् अनिल । उनी अहिले वैदेशिक रोजगारीमा छन् । जेनी अनिलकी श्रीमती हुन् । काजीले हत्या गरेकी नातिनी शिवानी अनिल र जेनीका छोरी हुन् । अनिशकै मोबाइलमा उक्त भिडिओ फेला परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई नियन्त्रणमा लिएको छ । यस विषयमा सोधपुछ भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिएका छन् ।

पटक–पटक उनीहरुको झगडा भएको कतिपय घटनामा मुद्दा मामिला समेत भएको जानकारी दिंदै एसएसपी खत्रीले भने, ‘भिडिओ फेला परेको छ । हामी अनुसन्धान गर्दैछौँ ।’ अघिल्लो वर्षसम्म होटल व्यवसाय गरेकी श्रीमती ईश्वरीमाथि काजीले अनेक लान्छना लगाएर झगडा गर्ने गरेको पाइएको छ । हाल सालै ईश्वरीले स्थानीय एक युवकविरुद्ध जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् । आरोपित युवक एक फागुनमा पाँच लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।

यही विषयलाई लिएर मंगलबार झगडा भएको थियो । झगडाको भोलिपल्ट काजीले तीन जनाको हत्या गरे । विहान ७ः३० देखि ८ बजेको बीचमा घटना भएको देखिन्छ । हम्मर र कैंचीले हानेर हत्या गरेको प्रारम्भिक जाँचबाट देखिएको प्रहरीले बताएको छ । छोराले भने नजिकै रहेको मावली हजुरबुबा हजुरआमाकहाँ गएर घरमा भएको घटनाबारे जानकारी गराएका थिए । त्यसपछि उनीहरुले प्रहरीलाई घटनाबारे खबर गरेका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७