विराटनगर जुट मिल्सको आगलागी शंकास्पद, २० लाख बराबरको क्षति


९ फाल्गुन २०८०, बुधबार
jut mil photo

मोरङ । मोरङको विराटनगर जुट मिल्समा मंगलबार राति लागेको आगलागीबाट २० लाख बराबरको क्षति भएको छ । जुट मिल्समा मङ्गलवार राति भएको आगलागीबाट मेसिनरी सामग्री र जुटका कच्चा पदार्थ जलेर नष्ट भएका छन् ।

आगलागीमा २० लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । बुधवार दिउँसोसम्म पनि पूर्ण रूपमा आगो नियन्त्रणमा आएको छैन । जुट मिल्समा लागेको आगो नियोजित रूपमा लगाइएको स्थानीयले आरोप लगाएका छन् । विराटनगर महानगरपालिका–१६ मा रहेको जुट मिल्स २०७८ साल माघदेखि बन्द थियो । मिल्सका सुरक्षा कमाण्डर पप्पु सुब्बाकाअनुसार जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने ‘स्वप्नर ब्लिचिङ डिपार्ट’ बाट राति ९ बजेतिर अचानक आगलागी शुरु भएको हो ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनअघि मात्रै जुट मिल्स चलाउने घोषणा गरेसँगै विदेशी कम्पनीहरु समेत निरीक्षण गरेर गएको जानकारी दिएका छन् । उनले सरकारले आगामी वैशाखबाट मिल्स पुनः संरचना गर्ने भनेकाले मिल्स चल्न नदिने तत्वहरुले आगलागी गराएको आशंका रहेको बताएका छन् ।

उनले घटनाको प्रकृति हेर्दा नियोजित ढंगले आगो लगाइएको प्रष्ट हुने बताए । उनले केही समयभित्रमै जुट मिल्स सञ्चालन गर्ने कुरा भएको बताए । विराटनगर महानगरपालिका–१६ का वडाध्यक्ष उद्धव भुजेलले जुट मिल्सको चारैतिर खुला भएकाले चोरी गर्न आउनेले चुरोट खाएर फाल्दा आगो लागेको अनुमान गर्न सकिने बताएका छन् । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता रञ्जन दाहालले राति ९ बजेट आगलागि भएको खबर आएसँगै तत्काल प्रहरी टोली गएर आगो नियन्त्रणमा लागेको बताए ।

उनले आगलागीबाट तीन वटा पुराना मेसिनहरु नष्ट भएको पाइएको बताए । उनले जुट बनाउन राखिएका कच्चा पदार्थ समेत जलेर नष्ट भएको बताए । उनले जुट मिल्समा आगलागीको कारण खुलिनसकेको बताएका छन् । उनले लामो समयदेखि बन्द उद्योगमा विद्युत आपूर्ति समेत लामो समयदेखि ठप्प भएका कारण सट–सर्किट भएर आगलागी हुनसक्ने सम्भावना नदेखिएको बताएका छन् । प्रहरीकाअनुसार बन्द अवस्थामा रहेको जुटमा अचानक आगलागी हुनुले घटना शंकास्पद देखिएकाले त्यसको आधारमा पनि प्रहरीले अनुसन्धान गर्ने बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७