अर्थमन्त्री महतका पिएको ‘अर्कै’ धन्दा, भन्सार र राजश्वमा ‘कर्के नजर’


१० फाल्गुन २०८०, बिहीबार
pa

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफू आएपछि अर्थतन्त्रमा सुधार आएको दावी गरे पनि संकटमुक्त अवस्था नरहेको स्वीकार्दै आएका छन् ।

लक्ष्य अनुसार राजश्व संकलन नभइरहेको हालको अवस्थामा अर्थमन्त्री महतले मातहतका निकाय प्रमुखहरुलाई इमान्दार भएर काम गर्न निर्देशन समेत दिंदै आएका छन् । उनले कार्यसम्पादनका आधारमा कर्मचारीको मूल्याङ्कन गरिने समेत बताउँदै आएका छन् । तर, अर्थमन्त्री महत आफ्नै निजी सचिवको कार्यशैलीको मामलामा भने अनभिज्ञ जस्तै देखिएका छन् । अहिले अर्थमन्त्री महतको आडमा निजी सचिवको जिम्मेवारी पाएका उपसचिव बोलराज आचार्यले आफ्नो ‘बोलावाला’ मच्चाइरहेको राजश्व क्षेत्रका कर्मचारीहरु बताउँछन् । अर्थमन्त्री डा. महतले राजस्व प्रशासनमा सधैं आकर्षक ठाउँमा बसेर लाभ लिएका उपसचिव बोलराज आचार्यलाई निजी सचिवमा राखेका छन् । मन्त्री महत भद्र भए पनि आचार्य भने राजश्व प्रशासनमा ‘सेटिङ’ मा अकूत कमाउने ‘धूर्त’ उपसचिवका रुपमा चिनिन्छन् ।

मन्त्री महतको निजी सचिवमा नियुक्त हुनासाथ आचार्यले आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयका प्रमुखहरुलाई विभिन्न करछली गर्ने र भन्सार छली गर्ने ब्यापारीहरुको पक्षमा काम गर्न दबाब दिने गरेको आरोप छ । निजी सचिव हुनासाथ उनले मन्त्रीको नाममा भन्सार र कर कार्यालयका प्रमुखहरुलाई दुःख दिइरहेको स्रोतले जानकारी दिएको छ । अहिले आचार्यले भन्सार र राजश्व कार्यालयमा ‘कर्के नजर’ लगाइरहेको स्रोत बताउँछ ।

मन्त्रीको निजी सचिव हुनुअघि आचार्य आन्तरिक राजश्व कार्यालय कालिमाटीको प्रमुख थिए । आन्तरिक राजश्व बिभागका महानिर्देशक दीर्घराज मैनाली (अहिले सरुवा) ले आचार्यलाई ‘पर्फमेन्स’ देखाउन नसकेको भन्दै धेरै पटक सचेत गराएका थिए । लक्ष्यअनुसार कर असुलीतिर भन्दा पनि उनी ब्यक्तिगत उन्नतितिर लागेको सूचना पाएपछि डीजी मैनालीले उनलाई सचेत गराएका थिए ।

आचार्य राजश्व समूहमा सेवा प्रवेशदेखि नै आकर्षक कर, भन्सार, राजस्व अनुसन्धान विभागमा बस्दै आएका छन् । आचार्य २०५९ मा सेवा प्रवेश गर्दा नै ३ नम्बर कर कार्यालय लाजिम्पाटमा पोष्टिङ भएका थिए । दोस्रो पोष्टिङ राजश्व अनुसन्धान विभाग र तेस्रो बुटवलमा भएको थियो । त्यसपछि आन्तरिक राजश्व कार्यालय बिराटनगर, तत्कालीन २ नम्बर कर कार्यालय, ठूला करदाता कार्यालय हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत केही समय बसे ।

आफूबिरुद्ध परेका अकूत सम्पत्ति आर्जनका उजुरी मिलाएर उनी पुनः आन्तरिक राजश्व कार्यालय प्रमुख भए । उनी आन्तरिक राजश्व कार्यालय हेटौंडामा पनि कार्यरत थिए । राजश्व अनुसन्धान कार्यालय बुटवलको प्रमुखमा उनी काजमा गएका थिए । राजश्व प्रशासनमा सधैं आकर्षक ठाउँ पाउनेमा आचार्य पहिलो नम्बरमा पर्ने अर्थ मन्त्रालयकै अधिकारी बताउँछन् ।

जागिरमा प्रवेश गरेदेखि नै आकर्षक कर र राजश्वमा बसी अकूत सम्पत्ति आर्जन गर्ने आचार्यले पूर्व अख्तियार प्रमुख नवीन घिमिरेको अन्तिम कार्यकालमा सुरेश घिमिरे नामका बिचौलियामार्फत उजुरी तामेलीमा राख्न लगाएको स्रोतको दावी छ । यसअघि अर्थमन्त्री डा. महतका निजी सचिवका रुपमा यु्वराज पाण्डे कार्यरत थिए । उपसचिव पाण्डेलाई मन्त्री महतले वासिङ्टन डीसीस्थित कन्सुलर बनाएर पठाएपछि आचार्य निजी सचिवमा आएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७