काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऊ, दाग लागेका घर पठाऔं : गगन थापा


१० फाल्गुन २०८०, बिहीबार
Gagan Thapa 2
फाइल फोटो

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काम गर्न नसक्ने मन्त्रीलाई विश्राम र विवादको दाग लागेका मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने बताएका छन् ।

आज (बिहीबार) पार्टीको महासमिति बैठकको समापन कार्यक्रममा बोल्दै उनले दाग लागेका मन्त्रीलाई घर पठाउनु पर्ने बताएका हुन् । उनले सरकारबाट जनताले सुशासन र डेलिभरीको कुरा खोजिरहेको बताएका छन् । थापाले आगामी निर्वाचनको चिन्ता गर्नुभन्दा पनि अहिले सरकारमा हुँदा काम गर्नुपर्ने बताए ।

पार्टीबाट निर्वाचित भएका वडाध्यक्षदेखि मन्त्रीसम्म सबै जनप्रतिनिधिले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्ने थापाले बताएका छन् । ‘म जस्तो सांसद होस् वा मन्त्री होस् प्रत्येकले रिपोर्ट कार्ड दिन सक्नुपर्छ । हाम्रो कामबाट नागरिक खुशी भएर कांग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ । काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔं, दाग लागेको मन्त्रीलाई घर पठाऔं’, उनले भने ।

अहिले पार्टीको कतिपय ठाउँमा दाग लागेको र ऐना पुछेर दाग नजाने भन्दै उनले पहिले अनुहारको दाग मेटाउनु पर्ने बताएका छन् । उनले नेताको नाममा सहकारी ठग्ने, जग्गा कीर्ते गर्ने र नागरिकता कीर्ते गर्नेहरुलाई पार्टीले ठीक गर्नुपर्ने टिप्पणी गरे । कांग्रेसका कार्यकर्ताले दुःख र समस्या छ भनेर सुविधा नपाउने भन्दै थापाले भने, ‘दुःख जसले पनि देखाउन सक्छ, हामीले दुःखको हल दिनुपर्नेछ । किनकी हामी जिम्मेवारीमा छौं ।’

काम गर्न नसक्ने वडाध्यक्षलाई अर्को पटक टिकट होइन, १० वर्ष घर बसाउँछु भन्न सक्नुपर्ने महामन्त्री थापाले बताए । ‘भ्रष्टाचारमा मुछिएको मान्छेलाई कांग्रेसले वरिपरि राख्न सक्दिन भन्नुपर्छ, त्यसपछि कामको तागतमा हाम्रो शक्ति आफैं बढ्दै जान्छ’, उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७