ओलीको प्रतिक्रिया : विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनुपर्छ


२०८० फाल्गुण १३ आइतबार ०७:४८ बजे

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु राम्रो हुने प्रतिक्रिया दिएका छन् । संसद् भवन परिसरमा आइतबार सञ्चारकर्मीले साधेको प्रश्नको उत्तर दिँदै ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूले राजीनामा दिनु राम्रो हुने बताएका हुन् ।

एमालेले बालकुमारी प्रकरणमा मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएको छ । ललितपुरको बालकुमारी घटनामा मन्त्री ज्वालाकै कारण भएको भनेर छानबिन ओयागले सिफारिस गरेपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने एमालेको माग छ ।

पुस १३ गते कोरियाली भाषासँग सम्बन्धित विरोध प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले गोली चलाउँदा दुईजनाको ज्यान गएको थियो। घटनाका सम्बन्धमा छानबिन गर्न आयोगले घटना हुनुमा मन्त्री ज्वाला जिम्मेवार रहेकाले उनलाई पदमा बसिरहन दिन एमालेले दबाब दिँदै आएको छ ।

तत्कालीन सञ्चारमन्त्री एवम् बहालवाला स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत अर्बौँको घोटाला हुने टेरामक्स काण्डमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएकाले पदमा बसिरहने अधिकार नरहेको एमालेको माग छ । झण्डा हल्लाएर अख्तियारमा बयान दिएका मन्त्री बस्नेतलाई पदमा बस्ने अधिकार नरहेको एमाले नेताहरू बताउँछन् ।

यस्तै रामग्राम क्षेत्रको जग्गा ९९ वर्षसम्म लिजमा दिने विषयमा संसद्को लेखा समितिले छानबिन गर्न अख्तियारलाई निर्देशन दिइसकेकाले किराती पनि पदमा बस्न योग्य नरहेको एमाले नेताहरूको भनाइ छ । मन्त्री किराती अध्यक्ष भएको बोर्ड बैठकले ९९ वर्षका लागि लिजका लागि दिने निर्णय गरेको थियो । अध्यक्ष ओलीले भने, ‘एमालेले ती मन्त्रीको राजीनामा मागिरहेको छ ।’ समाजवादी मोर्चामा सहभागी हुन आग्रह भइरहेको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले समाजवादी मोर्चाबारे थाहा नभएको प्रतिक्रिया दिए ।

एमालेले तीन मन्त्रीलाई बर्खास्त गर्न तीन दिनको अल्टिमेटम दिएको छ । संसद्को शुक्रबारको बैठकमा सांसद योगेश भट्टराईले तीन दिनभित्र तीन मन्त्रीलाई बर्खास्त नगरे संसद् बैठक अवरुद्ध गर्ने बताएका थिए । एमाले सचेक महेश बर्तौलाले पनि विवादमा तानिएका मन्त्रीलाई पदबाट हटाउनुपर्ने बताए । बर्तौलाको प्रश्न छ, ‘मन्त्रीहरू विवादमा तानिइरहने । अनि राज्यले उनीहरूलाई पालिरहनु पर्ने?’ प्रधानमन्त्रीसँग नैतिकता भए तीनै मन्त्रीलाई पदमा राख्न नमिल्ने उनको भनाइ छ । ‘नैतिकता भए प्रधानमन्त्रीले संसद्मा चिक्त बुझ्दो जवाफ दिनुपर्छ’, बर्तौलाले भने, ‘यस्तो तरिकाले सरकार कति दिन चल्छ ?’ बर्तौलाले भने ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७