७८ लाख घुसकाण्डमा मुछिएका राजनारायण पाठकका भाइ उपकुलपति बन्ने दौडमा


१४ फाल्गुन २०८०, सोमबार
shubha narayan pathak

काठमाडौं । ७८ लाख रुपैयाँ घुसकाण्डमा जोडिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोका पूर्वआयुक्त राजनारायण पाठकका भाइ शुभनारायण पाठक पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति बन्न ‘लबिङ’ मा लागेका छन् ।

विश्वविद्यालयका हालका उपकुलपति यादवराज कोइरालाको पदावधि सकिन लाग्दा दाजुलाई घुस दिलाउने भूमिकामा जोडिएका शुभनारायण ‘लबिङ’ मा लागेका हुन् । शुभनारायण राजनारायण पाठकको घुसकाण्ड चल्दा विश्वविद्यालयको फ्याकल्टी अफ साइन्स एन्ड टेक्नोलोजीको डिन पदमा कार्यरत थिए । उनी दुई कार्यकाल विश्वविद्यालयको डिन बनेका थिए ।

विश्वविद्यालयले आह्वान गरेको उपकुलपति पदको विज्ञापनमा शुभनारायणले समेत फराम भरेका छन् । १८ जनाले उपकुलपतिमा आवेदन दिएकोमा शुभनारायणको नाम दोस्रो नम्बरमा छ । लम्बोदरकुमार न्यौपाने नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणको कार्यकारी अध्यक्ष हुँदा उक्त कलेजको भ्रष्टाचारसम्बन्धी उजुरी मिलाउनको लागि अख्तियारका तत्कालीन आयुक्त राजनारायणलाई ७८ लाख रुपैयाँ घुस दिएको प्रकरण २०७५ सालमा बाहिरिएको थियो । उक्त प्रकरणमा राजनारायणलाई विशेष अदालतले दोषी ठहर गरिसकेको थियो ।

उक्त मुद्दामा ‘घुसको लेनदेन मिलाउन भूमिका खेलेको’ आरोप लागेका शुभनारायणसँग अख्तियार र अदालत दुबैले बयान अदालतले बयान लिएको थियो । यद्यपि, उनी बयानमा तानिए पनि अदालतले दोषी ठकर गरेको थिएन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दरखास्त दिनेहरूको सूची सार्वजनिक गरेको छ । फागुन ९ गते प्रकाशित गरिएको सूचीअनुसार पहिलो नम्बरमा तोयनारायण पौडेल छन् । यस्तै, तेस्रो नम्बरमा अनिलकुमार पोखरेल, चौथोमा जीवनकुमार ढकाल, पाँचौंमा अशोककुमार झा रहेका छन् ।

निवेदन दिएकामध्येबाट मन्त्रालयले तीन जनाको नाम नियुक्तिका लागि सिफारिस गर्नेछ । फागुन १८ गते पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति कोइरालाको पदावधि सकिँदैछ । मन्त्रालयले अहिलेसम्म सर्टलिष्ट बनाएर उपकुलपतिका लागि नाम सिफारिस गरिसकेको छैन । मन्त्रालयले अहिले आवेदन परेकाहरूमाथिको मापदण्ड, कार्यविधिबारे बुझ्ने काम गरिरहेको सूचना अधिकारी शंकर अधिकारीले बताए ।

‘उपकुलपतिको नोटिस आह्वान भएर १८ जनाको निवेदन परेको छ, कार्यविधि अनुसारको काम गरेर मात्रै नाम सिफारिस हुन्छ,’ अधिकारीले भने । दरखास्तको सूचीमा समावेश भएसँगै पूर्व डिन शुभनारायण उपकुलपति बन्ने दौडाहामा छन् । शुभनारायण दाजु राजनारायण अख्तियारको आयुक्त भएका बखत अचानक विश्वविद्यालयको डिन नियुक्त भएका थिए । त्यहीबेलाको ‘कनेक्सन’ मिलाएर अहिले उनी दौडाहामा रहेको स्रोत बताउँछ ।

राजनारायणलाई विशेष अदालतले तीन वर्ष कैद र ३९ लाख रुपैयाँ जरिवनाको फैसला गरेको थियो । आयुक्त पदमा बहाल रहँदा कसुर गरेको देखिएको भन्दै अदालतले राजनारायणलाई थप तीन महिना कैद हुने फैसला गरेको थियो । राजनारायण प्रकरणमा अख्तियार र विशेष अदालतले शुभनारायणसँग बयानसमेत लिएको थियो । उक्त घुसकाण्डमा जोडिएका नेपाल इन्जिनियरिङ काउन्सिलका तत्कालीन रजिष्ट्रार ज्ञानेन्द्रकुमार झासँग शुभनारायण सम्पर्कमा देखिएका थिए ।

झाले बयानमा लम्बोदर न्यौपानेबाट रकम लिएर राजनारायणसम्म पुर्‍याएङ्को बयान दिएका थिए । ७८ लाख रुपैयाँ रकम दुई चरणमा गएर राजनारायणलाई दिएको झाले बयानमा बताएका थिए । शुभनारायण डिन पदमा कार्यरत् रहँदाको मूल्यांकन औषत मात्रै हो । विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीहरूले घुसकाण्डमा नाम जोडिएपछि त्यतिबेले शुभनारायणलाई राजीनामा दिन दबाब दिएका थिए । तर, उनले राजीनामा भने दिएका थिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७