भारत लैजान लागेको साढे २४ किलो चरेससहित पाँच जना पक्राउ


१४ फाल्गुन २०८०, सोमबार
charesh

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरबाट लागुऔषध चरेससहित पाँच जना पक्राउ परेका छन् । भारत लैजान लागेको अवस्थामा २४ किलो ५ सय ६० ग्राम चरेस बरामद गरेको कृष्णनगर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

रुकुम पूर्वबाट ल्याइएको चरेस कृष्णनगर हुँदै भारत पुर्‍याउन खोजेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए । पक्राउ पर्नेहरूमा तीन जना महिला र दुई जना पुरुष छन् । प्रहरीका अनुसार खनियाबास गाउँपालिका– ५, धादिङका ५९ वर्षीया सेती तामाङको साथबाट ५ किलो ५५५ ग्राम, वर्ष ६६ को रेगदोन तामाङको साथमा ५ किलो ३६५ ग्राम र वर्ष ५२ की साङजोम तामाङनीको साथबाट ५ किलो ४८० ग्राम चरेस बरामद गरिएको छ ।

यसैगरी, सिद्ध कुमाख गाउँपालिका– ४, सल्यानका ४० वर्षीय थलबहादुर रोकाको साथबाट ४ किलो ६१५ ग्राम र भूमे गाउँपालिका– २, रुकुम पूर्व घर भई हाल लमही नगरपालिका– ४ बस्ने ३७ वर्षीया भावना बुढाको साथमा ३ किलो ५४५ ग्राम लागुऔषध चरेस फेला परेको हो । उनीहरूले कम्मरमा लगाएको कपडाको पेटीभित्र चरेस लुकाएर ल्याएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७