मोवाइल स्लो भए के गर्ने ?

काठमाडौ, २१ जेठ । मोबाइल अहिले अपरिहार्य उपकरण भइसकेको छ । नयाँ पुस्तालाई मोबाइल विनाको दिनचर्याको कल्पना गर्न पनि गाह्राे भइसकेको छ । यो अपरिहार्य र महत्वपूर्ण उपकरण ह्याङ भई दिंदा धेरैलाई झोक चलेको हुनुपर्छ । जुन बेला मोबाइल प्रयोग नगरी नहुने अवस्था आउँछ, त्यही बेला स्लो भई दिंदा काम नै बिग्रने गर्छ ।
फुर्सदको बेला डाउनलोड गरिएका सामग्रीको व्यवस्थापन सही ढङ्गले नगर्दा यस्तो समस्या आउने गर्छ । गेम खेल्न जुनसुकै सफ्टवेयर डाउनलोड गर्ने, अनावश्यक भिडियो र एप डाउनलोड गर्नाले पनि मोबाइल ह्याङ हुने गर्छ । त्यस्तै, डाउनलोड तथा इन्ष्टल गरिएका एप, क्यासमा बसेका डाटा, ब्याकग्राउण्डमा चलिरहेका एप, एनिमेशन स्पीड आदि कारणले मोबाइलको स्पीड स्लो हुन्छ ।
नचलाइने एप तथा गेम डिलिट गर्ने
वाईफाई भेट्यो कि केही न केही नयाँ एप डाउनलोड गर्ने बानी सामान्य हो । अनि त्यसलाई प्रयोग नगरीकन मोबाइललाई भारी मात्र बोकाउने प्रवृत्ति पनि धेरैको हुन्छ । यसले गर्दा मोबाइल स्लो हुन्छ । फुर्सदमा खेलौंला भनेर गेम इन्स्टल गरी नचलाउँदा मोबाइलको सीपीयूमा यसले केही न केही भाग ओगटिरहन्छ । त्यसैले, १ महीनायता प्रयोगमा नआएका कुनै पनि एपहरू डिलिट गर्नुपर्छ । १ महीनासम्म प्रयोगमा नआएको कुरा पछि प्रयोगमा आउँदैन वा आवश्यक परे पुनः डाउनलोड गर्ने अप्शन त छँदै छ नि ।
मेमोरी बढाउन फोटो र भिडियो हटाउने
फोनमा अनावश्यक भिडियो र फोटो राखिरहँदा पनि मोबाइल स्लो हुन्छ । एण्ड्रोइड फोन स्लो हुनुको अर्कोे कारण इण्टरनल मेमोरी भरिनु हो । त्यसैले, मेमोरी सकेसम्म खाली गर्नुपर्छ । यसका लागि फोनमा रहेका काम नलाग्ने फोटो र फाइल हटाउनुपर्छ ।
पछिलाई आवश्यक पर्नेे भएमा कम्प्युटर वा पेन ड्राइभमा सार्नुपर्छ । भिडियो र फोटोलाई ग्यालरीको सट्टा द क्लाउड वा गूगल फोटोजमा सेभ गर्नुपर्छ । यसबाट फोनको स्टोरेजमा बढी लोड पर्दैन ।
क्यास्ड डाटा हटाउने
मोबाइलमा थाहा नपाउने गरी क्याष्ड डाटा सेभ भइरहेको हुन्छ । कुनै एप वा साइट खोल्दा त्यसमा प्रयोग भइरहने फोटो तथा आइकन मोबाइलमा स्टोर हुन्छ । यो क्याष्ड डाटा कुनै एप डिलिट गरे पनि स्टोर भइरहन्छ । यसले गर्दा पनि मोबाइलको मेमोरी ओगटिरहेको हुन्छ । त्यसैले, मोबाइलको स्पीड बढाउन समय समयमा क्याष्ड डाटा हटाउनुपर्छ ।
एनिमेसन अफ गर्ने
मोबाइल फोन अत्यन्तै स्लो हुनु र ह्याङ हुनुको अर्को कारण एनिमेशनको अनावश्यक प्रयोग पनि हो । मोबाइलमा भएका एनिमेशन हटाएमा मोबाइल स्लो हुन पाउँदैन । एनिमेशनले सीपीयू रिसोर्स निरन्तर ओगटिरहेको हुन्छ । यसका लागि सेटिङभित्रको एबाउट फोनमा गई ब्युल्ड नम्बरमा जानुपर्छ । ब्युल्ड नम्बरलाई सातपटक लगातार ट्याप गरेपछि डेभलपर देखिन्छ । त्यहाँको सिष्टममा गई विण्डोज एनिमेशन, ट्राञ्जिशन एनिमेशन, एनिमेशन स्केल र एनिमेशन ड्युरेशन स्केललाई फाइभएक्स वा अफ गर्नुपर्छ ।
अप डेट गरिरहने
नयाँ अपडेटहरूमा पुराना सफ्टवेयरमा भएका समस्या समाधान भएका हुन्छन् । यही कारण मोबाइललाई समय समयमा अपडेट गर्नुपर्छ । मोबाइलका एप र सफ्टवेयरलाई अपडेट गरेमा स्लो हुने समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।
फ्याक्ट्री रिसेट गर्ने
मोबाइललाई ६–६ महीनामा फ्याक्ट्री रिसेट गरेमा ह्याङ हुने समस्या कम हुन्छ । आफूलाई अत्यावश्यक सामग्री ब्याकअप गरेर मोबाइल रिसेट गर्दा सेटिङ्स तथा डाटा क्लियर हुन्छ ।
क्लिनर एप
मेमोरी बुष्टर क्लिन माष्टर र एबीजी क्लिनर जस्ता एप्लिकेशन गूगल प्ले स्टोरबाट डाउनलोड गरेर फोनको स्पिड बढाउन सकिन्छ ।
नोटिफिकेशन अफ गर्ने
मोबाइललाई ह्याङ गर्ने कारण नोटिफिकेसन पनि हो । नोटिफिकेशनले समयको बर्बाद त गर्छ नै, समस्या पनि ल्याइदिन्छ । धेरैजसोले थाहै नपाईकन मोबाइलका अधिकांश एपमा नोटिफिकेशन अन गरेका हुन्छन् । यसले ब्याट्री पनि चाँडै सकिन्छ । त्यसैले, मोबाइलको नोटिफिकेशन अफ गर्नु राम्रो हुन्छ ।
एसडी कार्डमा एपलाई सार्ने
स्मार्टफोनमा जति पनि एप्स हुन्छन्, ती सबैलाई इण्टरनल मेमोरीमै सेभ गरिएका हुन्छन् । यदि फोनमा बढी एप्स छन् भने फोनको प्रोशेसिङ स्लो हुन्छ । त्यसैले, एप्सलाई एसडी कार्डमा सार्नुपर्छ । यसबाट फोनको प्रोशेसिङ फाष्ट हुनेछ ।
क्यास क्लियर
फोनमा रहेको क्यास मेमोरी क्लियर गर्दै जानुपर्छ । यसका लागि फोनको सेटिङ मेनुमा गएर एप्लिकेशन म्यानेजरको छनोट गर्नुपर्छ । अल ट्याबभित्र गएर जुन एप्समा समस्या छ, त्यसमा क्लिक गरेपछि ‘फोर्स स्टप’, ‘क्लीयर क्याश’ र ‘क्लीयर डाटा’ छनोट गर्नुपर्छ ।
फोन रिस्टार्ट
समय समयमा फोनलाई रिस्टार्ट गर्दा पनि फोन स्लो हुन पाउँदैन । फोन तातो हुँदा होस् वा ह्याङ हुँदा, रिस्टार्ट गरेमा केही हदसम्म भए पनि मोबाइल स्लो हुने समस्या अन्त्य हुन्छ । एजेन्सी