घाइते अवस्थामा उद्धारर गरिएको बाघको मृत्यु


२०८० फाल्गुण १५ मंगलबार ११:३८ बजे

बारा । पर्साको ठोरी गाउँपालिका–५ सुवर्णपुरबाट ‘डार्ट’ गरी घाइते अवस्थामा उद्धार गरिएको वयस्क पाटे बाघको मृत्यु भएको छ । घाइते अवस्थामा उद्धार गरेर निकुञ्जले खोरमा राखेर रेखदेख गर्दै आएको बाघको सोमवार बिहान मृत्यु भएको हो ।

बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधाबारको खोरमा रहेको घाइते वयस्क पाटेबाघलाई आइतबार राति निकुञ्जका कर्मचारीले खाना दिएका थिए तर सोमवार बिहान खाना दिने समयमा बाघ मृत अवस्थामा भेटिएको निकुञ्जले जनाएको छ । यसअघि समेत निकुञ्जको खोरमा रहेको ३ वटा पाटे बाघ मध्ये एक बघिनीको मृत्यु भएको थियो । करिव १० वर्ष उमेरको बाघ अर्को भाले बाघसँग जुध्दा घाइते भएको निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए ।

उनका अनुसार घाइते बाघलाई भेटेरीनरी अस्पताल तथा विज्ञ चिकित्सकको सहयोगमा उपचार भइरहेको थियो । उनले भने, ‘बाघलाई औषधी उपचार भईरहेको भएता पनि बचाउन भने सकिएन, मासुमा चिकित्सकको सल्लाह अनुसार नै औषधी हालेर खुवाईरहेका थियौै तर पनि बचाउन भने सकिएन, हुन त सधै जंगलमा बस्ने, कुद्ने जनावरलाई खोरमा बचाउन नसकिने रहेछ ।’

मृत्यु भएको बाघलाई कार्यालय प्राङ्गणभित्रै खाल्डो खनेर गाडिएको छ । पर्सा राष्ट्रिय निकुञ्जमा ३ वर्षको अन्तरालमा ४ वटा वयस्क बाघले ज्यान गुमाईसकेका छन् । हाल पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा वयस्क पाटे बाघ छन् । संरक्षणको क्षेत्रमा गरिएको पछिल्लो प्रयासका कारण पर्सा निकुञ्जमा बर्सेनि बाघको संख्या बढ्दै गएको हो ।

१२ वर्ष अघिसम्म यो निकुञ्जमा ३ वटा मात्र बाघ थिए । गत वर्ष बाघ गणना गर्दा यहाँ ४१ वयस्क बाघ रहेको पाइएको हो । बाघको संख्या बढेसँगै बासस्थानको अभाव हुँदा बाघहरु आफै आफै जुधेर घाइते हुने र घाइते बाघले बस्तीमा पसेर जनधनको क्षति पुर्‍याउने गर्दछन् । हाल नेपालमा ३ सय ५० वटा पाटेबाघ छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७