पर्वतमा यस वर्ष २० किलोमिटर सडक कालोपत्र हुँदै


१५ फाल्गुन २०८०, मंगलवार
Kalopatre tanahu 1 scaled
फाइल फोटो

पर्वत । पर्वतमा यस वर्ष २० किलोमिटरभन्दा बढी ग्रामीण सडक कालोपत्र हुने भएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले प्रदेश र सङ्घीय सरकारबाट बजेट विनियोजन भएका सडक आयोजना कार्यान्वयनमा लगेसँगै यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र हुने भएको हो ।

जिल्लाका सातवटै पालिकामा गरी २० किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य रहेको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार दक्षिण पर्वतको चिसापानी–हातेमालोचोक–त्रिवेणी–पोखरचौर सडक खण्ड कालोपत्र सम्पन्न भइसकेको छ । कुश्मा नगरपालिका–१ पाङ नुवारदेखि वडा नं २ को हिमालय माविसम्मको छ किलोमिटर लामो सडक कालोपत्रको काम भइरहेको छ ।

यो सडकका लागि यस वर्ष रु आठ करोड विनियोजन भएकामा अहिलेसम्म २० प्रतिशत काम भइसकेको कार्यालयले जनाएको छ । मोदी गाउँपालिकाको शेराबेँसी मोहोरिया हुँदै झिलिबराङ जाने सडक दुई किलोमिटर कालोपत्र हुने छ भने मख ठूलीपोखरी–देउपुर सडक पनि दुई किलोमिटर कालोपत्र गर्नेगरी योजना सुरु भइसकेको छ । यी दुवै योजनाका लागि रु दुई करोड ५० लाखको दरले बजेट विनियोजन भएको छ ।

कार्यालयका अनुसार मिलनचोक–धाइरिङ–घाखेत सडकअन्तर्गत यस वर्ष आठ किलोमिटर कालोपत्र हुने भएको छ । बहुवर्षीय योजनाअन्तर्गत रहेको यो सडक लामो समयदेखि अलपत्र रहकामा गत असोजदेखि धमाधम निर्माण भइरहेको छ । यसवर्ष काम सम्पन्न हुने अपेक्षा गरिएको कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

यसैगरी, मोदी गाउँपालिकाको रतिखोला–दराक चित्रे सडक पनि कालोपत्रको चरणमा रहेको छ । तेह्र किलोमिटर लामो यो सडक कालोपत्रका लागि समपूरक बजेटबाट रु १८ करोड विनियोजन भएको छ । चालू आर्थिक वर्षको ठूलो योजनाका रुपमा रहेको यो सडक यस वर्ष सम्झौता मात्र गर्न सकिने र अर्को आर्थिक वर्षदेखि कालोपत्रको काम सुरु गरिने भएको छ । त्यसैगरी, फलेवास नगरपालिकाअन्तर्गत हिलेखोला–कार्कीनेटा–थापाठाना–फलेवास सडक खण्डमा पनि चार किलोमिटर सडक कालोपत्र हुने भएको छ । यो सडकको पनि ठेक्का लागिसकेको छ । उक्त सडक दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

यसैगरी, गँगटे– आर्थर सडक खण्डमा पनि कालोपत्रका लागि काम सुरु भएको छ । रु पाँच करोड विनियोजन भएकामा यस वर्ष झन्डै दुई किलोमिटर सडक कालोपत्र नै हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । यो सडक निर्माणको काम धमाधम भइरहेको उनको भनाइ छ । कालोपत्रबाहेक विभिन्न सडक ढलान गर्ने योजना पनि रहेका छन् । रु ३० लाखभन्दा कम बजेट विनियोजन भएका सडक ढलान गर्ने योजना पनि धमाधम सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ । पर्वतमा यस वर्ष एक सय ३२ वटा पूर्वाधारका योजना रहेको र तीमध्ये अधिकांश योजना कार्यान्वयनमा गइसकेका छन् ।

जनशक्तिको अभावका कारण कतिपय योजनाको विस्तृत सर्भेक्षण गर्न र बेलपत्र आह्वान गर्न समस्या भइरहेको अधिकारीले बताए । पर्वतमा यस वर्ष प्रदेश र सङ्घीय सरकारबाट गरी पूर्वाधार योजनाका लागि रु एक अर्ब नौ लाख बराबार बजेट विनियोजन भएको थियो । जसमध्ये नौवटा क्रमागत योजना, दुईवटा कृषि सडक, १४ वटा सङ्घीय सरकारद्वारा हस्तान्तरित र प्रदेश सरकारका नयाँ ९४ वटा योजना रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७