आफ्नो होस् वा अर्काको भ्रष्टाचार गर्नेको अनुहार हेर्दिनँ : प्रधानमन्त्री

अब नेपाली जनताले भोकै मर्नु पर्दैन


२१ जेष्ठ २०७५, सोमबार
Kp oli

हटौँडा, २१ जेठ :  प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचार गर्ने कोही कसैलाई नछोड्ने बताएका छन् । सुशासनका लागि भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिदैं ओलीले भ्रष्टाचार आफू पनि नगर्ने, अरुलाई पनि गर्न नदिने यदि थाहा पाएँ अनुहार नहेर्ने बताए ।

प्रदेश नं ३ को प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टचार गर्नेको अनुहार समेत नहेर्ने भन्दै प्रधानमन्त्री ओलीले जुनसुकै पार्टीको भएपनि भ्रष्टचारीलाई बाँकी नराख्ने चेतावनी दिए । उनले भने, ‘हाम्रै साथीभाइ होलान्, व्यवसाय चलाएका होलान् तर, चिनेजानेका र आफन्त भएपनि जोगिन्छु भनेर नसोचे हुन्छ’ प्रधानमन्त्रीको चेतावनी छ, ‘बेठिक गर्ने र भ्रष्टाचार गर्ने कोहीकसैलाई क्षमा दिइँदैन, सहिदैन, सरकारले सिण्डिकेट तोड्छ भन्यो तोडेरै छाड्यो । त्यसमा को को परे पछि अनुहार हेरौला ।’

Kp oli
प्रधानमन्त्री ओली, फाइल तस्बिर

प्रधानमन्त्री ओलीले व्यवसायका नाममा भएका सिन्डिकेट तोडिएको बताउँदै भ्रष्टाचार नियन्त्रणका लागि अन्य क्षेत्रका सिन्डिकेट पनि अन्त्य हुने र त्यसका लागि अभियान नै सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री ओलीले मुलुकको विकासका लागि सरकारले भ्रष्टाचार उन्मूलन अभियान नै सञ्चालन गर्ने बताए । उनले सरकारले गरिवी, भ्रष्टाचार र पछौटेपनको विरुद्ध आक्रमणको नीति लिएको भन्दै मुलुकको विकासका लागि भ्रष्टाचारलाई अन्त्य गर्न सहकार्य गरेर अघि बढन प्रदेश सरकारहरुलाई पनि आग्रह गरे ।

नेपाली भोकै मर्नु प्रदैन
प्रधानमन्त्री ओलीले केही वर्षभित्र कोही पनि नेपालीले भोकै मर्नु नपर्ने तरिकाले सरकारले काम गर्ने बताए । भने, ‘नेपालीले हात फैलाएर भीख माग्नुपर्ने र कोही पनि भोकले मर्नुपर्ने स्थितिको अन्त्य हुने गरी सरकारले काम गर्नेछ । नेपालीले खानका लागि हात फैलाएर भीख माग्नु पर्दैन, अब कोही नेपाली भोकले मर्नुपर्दैन, किनकि देशका जनताका लागि सरकार छ ।”

हरेक नेपालीले सुरक्षित भएर बाँच्न पाउने र शान्ति सुरक्षाका साथ बाँच्न पाउने अधिकारको सुनिश्चित गर्ने उल्लेख गर्दै उनले समाजवाद उन्मुख समाजमा समग्र राष्ट्रिय उत्पादनलाई बढाएर सबै नेपालीले खान, लाउन, बस्न, पढ्न पाउनेजस्ता आधारभूत अधिकार समानरुपमा उपयोग गर्न पाउने अवस्थाको विकास गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले त्यसका लागि सरकारले समानुपातिक, समावेशी, आरक्षणजस्ता अधिकारको व्यवस्था गरेको बताउँदै तराईका जनताका लागि ‘जनता आवास कार्यक्रम’ लाई प्रभावकारी तरिकाले अगाडि बढाउने काममा सरकारको ध्यान केन्द्रित भएको धारणा व्यक्त गरे । छिमेकी राष्ट्रसँग अनुचित सम्झौता नगरी नरम उचाइका साथ सार्वभौमसत्ताको संरक्षण गर्न सरकार लागेको बताउँदै उनले  मुलुकको राष्ट्रियता, भौगोलिक अखण्डता, आन्तरिक हस्तक्षेप, राष्ट्रिय हितविपरीत कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

हस्तक्षेप गर्दिन भनेपछि सम्बन्ध सुधार गरेका हौं
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दिन भनेपछि भारतसँग सम्बन्ध सुधार भएको उनको धनाई छ । ‘छिमेकिसँग सम्बन्ध सुमधुर भएको छ । सम्बन्ध पुनस्थापित भएको छ । म गर्वका साथ भन्न चाहन्छु । सम्बन्ध सुधार हुनुपर्छ भनेर निहुरिएर होइन, झुकेर होइन । आफ्ना आन्तरिक मामिलामा हस्तक्षे स्वीकार गरेर होइन । सार्वजनिक सत्तालाई अण्डरमाइन गर्न दिएर होइन । स्वतन्त्रता र भौगोलिक अखण्डतालाई नजरअन्दाज गरेर होइन । मिल्नै पर्छ जसरी पनि भनेर होइन । आन्तरिक मामिलामा हस्तक्षेप गर्दिन भनेर, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनतालाई मानेर, शीर उठाएर सम्बन्ध सुधार गरेका छौं ।

प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्धका विषयमा प्रधानमन्त्री ओलीले जुँगाको लडाइँ नलड्ने बताए । उनले भने,‘आन्तरिक मामिलामा हस्तक्षेप गर्दिनँ भनेर हामीले सम्बन्ध सुधार गरेका छौ । नेपालीको शीर उँचो हुने गरी भारतसँगको सम्बन्ध सुधार गरेका छौँ। पहिले कता गयो । सम्झौता कस्तो गर्यो भन्ने होइन हित भयो भएन हेर्न हो। हामी जुगाँका लडाइँ लड्दैनौँ। खौरिदिन्छौँ ।’

‘जनताले मन पराउने काम गर्नुस्’

प्रधानमन्त्री ओलीले जनताले मन पराउने गरी काम गर्न सम्पूर्ण प्रदेश सांसदलाई निर्देशन दिए । भने, “जनताले मन पराउने गरी काम गर्नुस्, मन नपराउने काम नगर्नुस्, जनताप्रति उत्तरदायी हुने गरी काम गर्नुस् ।’ प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई जनतासँग टाढाबाट नभई नजिकबाट हेर्न आग्रह गर्दै भने, “नजिकबाट जनताले हेर्दा जनप्रतिनिधि धब्बारहित हुनुपपर्छ ।’

‘मुलुक उत्पादनमुखीभन्दा उपभोगमुखी भयो’

विशेष सम्बोधनमा उहाँले नेपालमा खान, लाउन पुग्ने गरी उत्पादन हुने गरेको भए पनि केही निर्यात र केही आयात हुने गरेको उल्लेख गर्दै बढी मात्रामा उत्पादनमुखीभन्दा पनि उपभोगमुखी हुँदै गएको बताए। प्रधानमन्त्री ओलीले भने, ‘कति अन्न कुहाएर जाँड बनाउँछौँ, अन्न त्यत्तिकै खेर जान्छ, कपडा, जुत्ता, लुगा राम्रो लगाउँछौँ, तर भएका उद्योग बन्द गरेर हामी राम्रो उपभोगमुखी भएका छौँ ।’

कुहिएका माछा (जुन खाँदा १० वर्षमा प्रजनन क्षमता घटाउँछ) र कुहिएका केरा आयात गरी खानु उचित नभएको बताए । उनले पानी पिउँदा पुग्ने अवस्थामा रसायन मिसिएका जुस पिउनाले आफ्नो स्वास्थ्य खराब हुनुका साथै उपभोक्तामुखी बानीको आदतसमेत बढ्दै गएको धारणा व्यक्त गरे । अब अधिकार सम्पन्न सरकारहरुले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ ।

हेटौंडामा कपडा कारखाना चलाउने

प्रधानमन्त्री ओलीले बन्द भएका कपडा कारखाना फेरि चलाउने अठोट सरकारले लिएको बताए । भने,, “कपडा उद्योगका लागि नयाँ मेसिनहरु ल्याउने र त्यसका लागि व्यवस्थापनमा निजी क्षेत्रलाई पनि शेयर दिने सरकारले नीति लिएको छ ।” प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिकीकरण र औधोगिकीकरण बनाएर समृद्ध मुलुक बनाउने सरकारको लक्ष्य रहेको चर्चा गर्दै नेपालमा कोइलाखानी, सुनखानी, अन्य खनिजहरुको प्रशस्त सम्भावना रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७