रौतहटको मौलापुर महादेव मन्दिर दुई हजार वर्षअघि गुप्तकालको रहेको दाबी


२०८० फाल्गुण १६ बुधबार ०७:०२ बजे

–सञ्जय मिश्रा
रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरास्थित पुरातात्त्विक महादेव मन्दिर गुप्तकालको रहेको दाबी गरिएको छ । उत्खननपछि नेपालसँगै बेलायतका पुरातत्वविदहरुले कर्नाटकालीन सेनकालीन भन्दै आएको मन्दिर तथा मन्दिरसँगै उत्खननमा भेटिएको अन्य संरचना गुप्तकालको रहेको दाबी गरेका हुन् ।

भारत बिहार सरकारका अवकास प्राप्त एक जना पुरातत्वविद विधा चौधरीलेले मन्दिर तथा अन्य संरचनालाई चौथो शताब्दी अर्थात दुई हजार वर्षअघिको गुतकालको भएको दाबी गरेका छन् । केही महिनाअघि उनी मौलापुर पतौरा स्थितपुरातात्विक मन्दिर र मन्दिर छेउ उत्खनन भइरहेको स्थानबाट निकालिएको को इँटालाई गुप्तकालको भएको दाबी गरेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन् ।

चौधरीले मन्दिर र त्यहाँ प्राप्त अवशेषहरुको गहन अध्ययन अनुसन्धान जरुरी रहेको बताएका थिए । यसैबीच पूर्वमन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहले मन्दिर छेउ भइरहेको उत्खननको स्थलगत निरीक्षण पछि त्यसको विस्तृत अध्ययन अनुसन्धान आवश्यक रहेको बताएका छन् । नेपाल सरकार र तत्कालीन विद्रोही माओवादी बीच सशस्त्र द्वन्द्व उत्कर्षमा रहेको बेला एक जना स्थानीयले बारी खन्ने क्रममा मन्दिरको संरचना जमिनमुनि भेटेका थिए । सोही समय सामान्य उत्खनन गर्दा प्राप्त भएको शिवलिङ्गलाई स्थानीयको सहयोगमा मन्दिर बनाएर पूजाआजा गर्न सुरु गरिएको थियो ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मौलापुर नगरपालिकाले मन्दिरको आधिकारिकता पुष्टिका लागि विभिन्न पुरातत्त्वविदसँग समन्वय गरी अध्ययन सुरू गरेको थियो । करिब डेढ वर्षमा वरिष्ठ पुरातत्त्वविद् स्वर्गीय तारानन्द मिश्रको निगरानीमा पतौरा महादेव मन्दिरको उत्खनन तथा संरक्षण गर्ने काम भएको थियो । अध्ययनको प्रारम्भिक नतिजाले मन्दिरको संरचना कर्णाटकालीन भएको देखिएको थियो ।

मन्दिरलाई उत्खनन गर्दै जाँदा जमिनको सामान्य सतहदेखि करिब २२ फिट गहिरोसम्म यसको संरचना भेटिएको थियो । बाराको सिम्रौनगढमा कर्णाटवंशीय शासन स्थापना हुने समयकै हाराहारीको रौतहटको ईशनाथ मन्दिर (स्थापना विसं १११४)ल ाई विचार गर्दा पतौराको महादेव मन्दिर अझ पुरानो हुन सक्ने पुरातत्वविदहरुको अनुमान रहेको छ । पूर्व मन्त्री प्रभु साहको पहलमा पतौरा महादेव मन्दिरको बेलायतको दुर्हाम विश्वविद्यालयको पुरातात्विक टोलीले स्थलगत अध्ययन गरेको थियो । जमिनमुनि दुई मिटरसम्मको पुरातात्विक एक्सरे गर्न सक्ने मेसिनको सहायतासमेत लिएर रिचिइ विलिइस र एरिक नायलोरको संयुक्त टोलीले पुरातात्त्विक अध्ययन गरेका थिए ।

२०७६ सालमा पतौरामा उत्खननको क्रममा रहेको महादेव मन्दिरको बेलायतका पुरातात्वविदहरुले अध्ययन गरेका थिए । मन्दिर उत्खननको क्रममा निकै पुरानो संरचना प्राप्त भएपछि विशेष पुरातात्त्विक अध्ययन गर्न थालिएको थियो । बेलायती पुरातत्वविदले जमिनमुनि देख्ने एक्सरे मेसिनको सहायताले मन्दिरको ५० मिटर उत्तरसम्म जमिनमुनि संरचना रहेको बताएपछि मौलापुर नगरपालिकाले दुई जना अवकास प्राप्त पुरातत्वविद् राखेको छ । २०६७ सालादेखि नै नेपालका पुरातत्वविद देवनाथ तिवारी र अर्का अवकास प्राप्त कर्मचारी उत्खननमा नियमित खट्दै आएको मेयर रिना कुमारी साहले बताएकी छन् ।

तिवारीका अनुसार पछिल्लो उत्खनन पूरा हुन अझै केहीदिन लाग्नेछ । हाल उत्खनन भइरहेको स्थानमा जमिनमुनि चौथो शताब्दीको इँटा प्रयोग गरिएको पर्खाल र ढोकाको स्वरूप देखिएको छ। उत्खनन सकिएपछि पूर्ण रूपमा यकिन हुने उनको ठम्याइ छ । विगतमा कर्नाटकालिन, सेनकालीन र हाल गुप्तकालिन भनिएको पुरातात्विक महादेव मन्दिर लाई नेपाल सरकारले १०० गन्तव्यको सूचीमा समावेस गरेको थियो ।

सोही मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनु मौलापुर नगरपालिकाले २०७६ सालदेखि प्रत्येक बर्ष महा शिवरात्रीको अवसरमा मधानी महोत्सवको आयोजना गर्दै आएको छ । यसपटक पनि यही २२ गतेदेखि मधानी महोत्सव आयोजना गरिएको छ । महोत्सवमा बलिउड अभिनेता गोबिन्दादेखि नेपाली नायक पल शाह लगायत नेपाल र भारतका ३० जना कलाकारको प्रस्तुति हुने प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिएका छन् ।

भगवान शिव पार्वतीको वैवाहिक उत्सवको रूपमा मनाइने अनुष्ठान मधानी महायज्ञमा भगवान शिवको जन्ती यात्राबाट सुरु भइ जल, जमिन र बसाहाको पूजनसहित शुभारम्भ हुने तथा शिव पार्वती विवाहलिला प्रदर्शन हुने योजना रहेको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ । यसपटकको महोत्सवमा १० लाख मानिसले अवलोकन गर्ने आयोजकको अनुमान छ । –न्यूज कारखाना

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७