माओवादी कार्य विभाजनमा जनार्दन शर्मा असन्तुष्ट

‘विधान अधिवेशनको ह्याङ ओभरलाई लिएर कार्यविभाजन गरियो’


१६ फाल्गुन २०८०, बुधबार
janardan

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्माले स्थायी कमिटी बैठकमा फरक मत राखेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आज बिहान ९ बजेदेखि बसेको माओवादी केन्द्रको स्थायी बैठकमा उनले कार्यविभाजनमा आफूले असहमति राखेको जानकारी दिए ।

‘मैले आफ्नोतर्फबाट निर्णयमाथि असमत दर्ज गरेको छु । कार्य विभाजन जसरी गरियो सहि भएन । पार्टी निर्माणको उद्देश्य लिएर भएन । विधान अधिवेशनको ह्याङ ओभरलाई लिएर कार्यविभाजन गरियो । विधान अधिवेशनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्छ भन्ने मत राख्नेलाई म लगायतलाई कार्यविभाजनबाट जिम्मेवारीबिहीन बनाइएको छ ।’ उनले भने, ‘सुदूरपश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रिय सदस्यलाई सहईञ्जार्ज बनाइएको छ ।’ उनले प्रदेश इन्चार्जहरू हेरफेर गर्दा आफूप्रति पूर्वाग्रह राखिएको गुनासो गरेका छन् ।

‘कार्यबिभाजन सही भएन,’ बैठकमा शर्माले भने, ‘विधान अधिवेशनमा नेताहरू निर्वाचित हुनुपर्छ भनेर मैले राखेको विषयलाई लिएर कार्य विभाजन गर्दा पूर्वाग्रह राखियो ।’ उनले सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने लगायतका माग राखेर फरक मत राखेका थिए । पार्टी उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा प्रस्ताव कार्यदल बनाइएको थियो । जसको सदस्यमा पार्टी उपमहासचिव शर्मा पनि थिए । उनले पार्टी रूपान्तरणका लागि कार्यदलमा चार फरक प्रस्ताव गरेका थिए ।

तर, कार्यदलमा रहेका अन्य नेताले उनको कुरा सुनेनन् । त्यसपछि उनले विधान मस्यौदा छलफलमा फरक चार मत राखेका थिए । प्रत्यक्ष निर्वाचन प्रणालीबाट पार्टीका सबै तहमा चुनाव हुनुपर्ने र संगठनलाई उनीहरूको योजनाअनुरूप चल्न दिनुपर्ने उनले उठाएका मुख्य एजेण्डा थियो । स्थायी समितिमा शर्माले पेस गरेको प्रस्तावका कारण माओवादीभित्र तरङ्ग उत्पन्न भएको थियो । कार्यदलले गत माघ १ गते पार्टी अध्यक्ष प्रचण्डलाई विधान मस्यौदाको प्रस्ताव बुझाएको थियो ।

मंगलबार बसेको माओवादी स्थायी समिती बैठकले १० प्रदेश इन्चार्ज परिवर्तन गर्ने निर्णय गरेको थियो । हरिबोल गजुरेल–कोशी, लीलामणि पोखरेल– मधेस प्रदेश, अग्नि सापकोटा– बागमती, दीनानाथ शर्मा– गण्डकी, चन्द्रप्रकाश खनाल– लुम्बिनी, कालीबहादुर मल्ल– कर्णाली, गिरिराजमणि पोखरेल–सुदूरपश्चिम प्रदेशको इन्चार्ज प्रस्ताव भएका थिए ।

उपाध्यक्ष समेत रहेका प्रवक्ता सापकोटालाई बागमती प्रदेश इन्चार्जमा ल्याउने तयारी छ। यसअघि उपमहासचिव जनार्दन शर्मा बागमती इन्चार्ज थिए । यस्तै विशेष प्रदेशमा हितमान शाक्य, सम्पर्क समन्वय कमिटीमा महासचिव समेत रहेका देव गुरुङ, प्रवासअन्तर्गत मध्यपूर्व ब्युरोको इन्चार्जमा पम्फा भुसाल, भारतमा मातृका यादव र युरोपमा राम कार्कीलाई इन्चार्ज बनाउने प्रस्ताव बैठकमा पेश भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७