राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय, आगामी चुनाव एक्लै लड्ने


२०८० फाल्गुण १६ बुधबार ०७:३३ बजे

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज (बुधबार) बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

आउने निर्वाचनमा माओवादी एक्लैले लड्ने समेत उनले जानकारी दिए । ‘हाम्रो पार्टीको केन्द्रीय समितिको बैठकले र विधान सम्मेलनमा पनि के स्पष्ट भनिसकिएको छ भने अब आउने निर्वाचनमा हाम्रो पार्टीले नै सिंगल, स्वतन्त्रतापूर्वक अथवा प्रतिस्पर्धा गर्ने भनिसकेका छौं । सापकोटाले भने, ‘अब आउने चुनावका लागि एक्लै प्रतिस्पर्धा गर्ने गरी तयारी गर्नुपर्छ भनेर भनिसकेका छौं । यो गठबन्धन गर्ने–नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिअनुसार गर्ने कार्यनीति हो ।’

स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरूले राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्नेमा जोड दिएका छन् । ‘अधिकांशले नछोड्ने भनेको छ । हामीले पनि आजको बैठकबाट उम्मेदवारी दिने निर्णय गरेका छौं’ उनले भने । माओवादीले प्रधानमन्त्री गुमाउने बित्तिकै संवैधानिक परिषद्मा शून्य उपस्थिति हुने भन्दै उनीहरुले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीलाई पुष्पकमल दाहाललाई दबाब दिइरहेका छन् ।

गठबन्धनबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका कांग्रेसका कृष्णप्रसाद सिटौलाले अध्यक्षको दाबी गरिरहेको बेला माओवादीले उक्त पदको दाबी गरेपछि सत्तारुढ दलभित्र भागबण्डामा सकस पर्ने देखिएको छ । मंगलबारको बैठकमा पनि अधिकांश नेताहरूले सत्तासीन कांग्रेसको भूमिकाबारे प्रश्न गरेका थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको प्रस्तावमा ‘१० वर्षे सशस्त्र युद्ध’को माओवादी हिंसा भनेर अवमूल्यन गरिएको, महामन्त्री गगन थापाको प्रस्तावमा चुनावी गठबन्धन नगर्ने भनेर किटान गरिएको तथा सत्तामा बसेर कांग्रेसका नेताहरूले विपक्षीको भूमिका निर्वाह गरेको भन्दै माओवादीका नेताहरूले बैठकमा असन्तुष्टि जनाएका थिए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७