माओवादी केन्द्रले फेर्‍यो प्रदेश इञ्चार्ज र सह–इञ्चार्ज, कसलाई कहाँको जिम्मेवारी ?


१६ फाल्गुन २०८०, बुधबार
maoist center sthayi
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रदेश इञ्चार्ज र सह–इञ्चार्ज तोकेको छ । पार्टी कार्यालय पेरिसडाँडामा दुई दिन बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता अग्नीप्रसाद सापकोटाले प्रदेश इञ्चार्ज र सह–इञ्चार्जहरू तोकिएको जानकारी दिएका छन् ।

कोशी प्रदेशको इञ्चार्जमा हरिवोध गजुरेल र सह –इञ्चार्जमा सावित्री कुमारी काफ्ले तोकिएको प्रवक्ता सापकोटाले जानकारी दिए । यसैगरी मधेश प्रदेशको इञ्चार्जको जिम्मेवारी लीलामणी पोखरेललाई दिइएको छ भने विश्वनाथ साहलाई सह–इञ्चार्ज बनाइएको छ ।

बागमती प्रदेशको इञ्चार्जको जिम्मेवारी अग्नीप्रसाद सापकोटालाई दिइएको छ । सह–इञ्चार्ज तोक्न बाँकी छ । यसमा प्रचण्डका भाइ नारायण दाहाललाई ल्याउन खोजिएको थियो । तर, अन्तिममा खाली राखेर जिम्मेवारी तोकिएको छ । गण्डकी प्रदेशमा दिनानाथ शर्मा इञ्चार्च र हरिराज अधिकारी सह–इञ्चार्च रहेका छन् । लुम्बिनी प्रदेशमा चक्रपाणी खनाललाई इञ्चार्ज र कुलप्रसाद केसीलाई सह–इञ्चार्जको जिम्मेवारी दिएको छ । कर्णाली प्रदेशमा कालीप्रसाद मल्ल इञ्चार्ज बनाइएको छ । सह–इञ्चार्ज तोक्न भने बाँकी छ ।

यस्तै सुदूरपश्चिम प्रदेशमा उपमहासचिव गिरिराज मणि पोखरेल इञ्चार्ज र बिना मगरलाई सह–इञ्चार्जको जिम्मेवारी दिइएको छ । प्रवास प्रदेश समितिको मध्यपुर इञ्चार्जको जिम्मेवारी पम्फा भुसाललाई दिइएको छ । प्रवास प्रदेश समिति भारतको इञ्चार्जमा लक्ष्मण पन्त र सह–इञ्चार्जमा टीभी पाठकलाई जिम्मेवारी दिइएको छ ।

प्रवास प्रदेश समिति युरोप–अमेरिकालगायतको इञ्चार्जको जिम्मेवारी सुरेन्द्रकुमार कार्कीलाई दिइएको छ । विशेष प्रदेश समितिको इञ्चार्जको जिम्मेवारी हितमान शाक्य र सह–इञ्चार्जको जिम्मेवारी यशोधा सुवेदीलाई दिएको प्रवक्ता सापकोटाले जानकारी दिए । नयाँ तोकिएको जिम्मेवारीअनुसार यसअघि बागमतीका इञ्चार्ज रहेका जनार्दन शर्मा, उपत्यकाका इञ्चार्ज रहेका वर्षमान पुन, गण्डकीका इञ्चार्ज रहेका देवेन्द्र पौडेललगायतलाई जिम्मेवारीविहीन बनाइएको छ । यद्यपी शर्माले आफूले जिम्मेवारी नपाउनुलाई सामान्य रूपमा लिएको फरक मतमा उल्लेख गरेका छन् ।

बैठकले चैत्र १ गते गर्ने भनिएको मधेश तराई राष्ट्रिय जागरण अभियान चैत्र १५ गतेदेखि र हिमाल पहाड मधेश राष्ट्रिय अभियान बैशाख १५ गतेदेखि गर्ने निर्णय गरेको छ । कार्यविभाजनको विषयलाई लिएर उपमहासचिव जनार्दन शर्माले भने असन्तुष्टि जनाउँदै फरक मत राखेका थिए ।

‘मैले आफ्नोतर्फबाट निर्णयमाथि असमत दर्ज गरेको छु । कार्य विभाजन जसरी गरियो सहि भएन । पार्टी निर्माणको उद्देश्य लिएर भएन । विधान अधिवेशनको ह्याङ ओभरलाई लिएर कार्यविभाजन गरियो । विधान अधिवेशनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नुपर्छ भन्ने मत राख्नेलाई म लगायतलाई कार्यविभाजनबाट जिम्मेवारी बिहीन बनाइएको छ ।’ बैठकपछि उनले भने,‘ सुदूरपश्चिममा स्थायी कमिटी सदस्य हुँदाहुँदै केन्द्रिय सदस्यलाई सह–इञ्जार्ज बनाइएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७