कांग्रेसलाई ओलीको प्रश्न : ८७ सिटले संविधान संशोधन हुन्छ ?


२०८० फाल्गुण १६ बुधबार ०७:३६ बजे

मोरङ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन कुनै पनि बेला फुट्न सक्ने बताएका छन् ।

सत्तारुढ गठबन्धनलाई खरानीको डल्लोको रुपमा चित्रण गर्दै उनले त्यो सुक्यो भने पनि फुट्ने र भिज्यो भने पनि फुट्नसक्ने टिप्पणी गरे । बुधवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफूहरूले दिएको सुझाव नसुनेर सरकारले दम्भ देखाइरहेको आरोप समेत लगाए । ओलीले सत्तारुढ प्रमुख घटक काँग्रेस प्रतिगामी सोचका साथ अघि बढिरहेको जिकिर पनि गरे । उनले काँग्रेस महासमिति बैठकले संविधान संशोधनको कुरा गरे पनि सम्भव नभएको बताए । काँग्रेस एक्लैले संविधान संशोधन गर्नसक्ने अवस्था नरहेको ओलीको भनाई थियो ।

अध्यक्ष ओलीले भने ‘नेकपा एमालेसँग मेजरिटी छैन । हामी सरकार भन्दा बाहिर छौं । प्रतिपक्षमा छौं । त्यसकारण हामीले सुझाव दिने हो । त्यो सुझाव त अब गठबन्धनको दम्भले सुनिराखेको छैन पहिलेदेखि पनि । गठबन्धन त ५ वर्षसम्म जान्छ कि जाँदैन ? म भन्न सक्दिन । किनभने यो खरानीको डल्लो हो । यो सुक्यो भने पनि फुट्छ, भिज्यो भने पनि फुट्छ । त्यो उसको ८७ सिटले संविधान संशोधन हुन्छ ? एमालेले काँग्रेसलाई केमा सहयोग गर्ने ? प्रतिगमनका लागि । काँग्रेस जति प्रतिगामी सोच राख्छ, त्यसका लागि ? काँग्रेस अग्रगामी सोचका साथ अघि बढिराखेको छैन । प्रतिगामी सोचका साथ अघि बढिराखेको छ । जनपक्षीय, प्रगतिशील हुनुपर्ने, अगाडि बढ्नुपर्ने ठाउँमा पछाडि फर्कन खोजिराखेको छ काँग्रेस ।’ अध्यक्ष ओलीले काँग्रेसले प्रतिगामी सोच राखेकाले एमालेले सहयोग गर्ने कुनै पनि ठाउँ नरहेको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७