भारतसँग सीमा जोडिएको ६२ किमि क्षेत्रमा गाडियो नेपालको राष्ट्रिय झण्डा, स्थानीयले गरे स्वागत


१९ फाल्गुन २०८०, शनिबार
sunsari nepal flag 3agczKzNTw

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले भारतसँगको सीमा जोडिएका ६२ किलोमिटर क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा राख्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम भारतसँग सीमा जोडिएको सुनसरीको ६२ किलोमिटर क्षेत्रमा राष्ट्रिय झण्डा राखिने भएको हो ।

कोशी ब्यारेज नजिकैको भाण्टाबारी तीनकुने क्षेत्रबाट औपचारिक रूपमा झण्डा राख्ने कामको शुरुवात गरिएको सुनसरी प्रशासनले जनाएको छ । नेपाली भूमि जोकोहीले परैबाट चिन्न सकून् भन्ने उद्देश्यले सीमामा राष्ट्रिय झण्डा राख्ने अभियान अघि बढाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिएका छन् ।

आचार्यले भारतसँग सीमा जोडिएको सुनसरीतर्फको ६२ किलोमिटर नाका क्षेत्रका हरेक प्वाइन्ट, बीओपीसहितका सुरक्षा निकायका पोष्ट र खुला रूपमा रहेका हरेक नाकामा राष्ट्रिय झण्डा राखिने बताएका छन् । प्रजिअ आचार्यले सीमा क्षेत्रको भूमिमा राष्ट्रिय झण्डा फहराउँदा सीमावासी नेपालीमा राष्ट्रियताको भावना थप उच्च हुने विश्वास समेत व्यक्त गरे ।

सीमावासी सादा पोशाकका पहरेदार भएकाले सीमा सुरक्षा र संरक्षणका सवालमा समेत राष्ट्रिय झण्डा अभियान सार्थक हुने उनको विश्वास छ । ‘सीमा क्षेत्रको अवस्थासँगै स्थानीयको समस्या र गुनासो बुझ्न पैदल यात्रामा निस्किएका थियौँ । सो क्रममा भारतसँगको खुला नाका क्षेत्रमा नेपाली भूभाग कहाँसम्म पर्छ भनेर ठम्याउन जोकोहीले नसक्ने अवस्था देखियो । राष्ट्र र राष्ट्रियाताको हितमा आवश्यकता समेत महसुस भई राष्ट्रिय झण्डा फहराउने अभियानमा जुटेका हौं’, प्रजिअ आचार्यले भने ।

नाकामा राष्ट्रिय झण्डा अभियान अघि बढाएको सुनसरी प्रशासनले दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले नेपाली भूमितर्फ बनाएका केही सुरक्षा पोष्ट समेट हटाइएको जनाएको छ । नाकाका समस्या र स्थानीयका गुनासोबारे दुई देशीय सुरक्षा बैठकमा कुरा उठाउने समेत जनाएको छ । नेपालतर्फको सुनसरीको भूभागमा भने राष्ट्रिय झण्डा अभियान सुनसरी प्रशासनको पहिलो कदम हो । जसलाई स्थानीयवासीले प्रसासनको सही निर्णयका रूपमा लिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७