घुस लिएको आरोपमा तीन ट्राफिक प्रहरी निलम्बित


१० कार्तिक २०७४, शुक्रबार
Nepal Police
काठमाडौं : चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधाबार निलम्बन गरेको हो ।
Nepal Police

निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बाँस्तोला छन् । उनीहरू तीनैजना रंगेहात घुससहित पक्राउ परेका हुन् । थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध उजुरी आएपछि ट्राफिक महाशाखाका डिआइजी सर्वेन्द्र खनालले महाशाखाबाट सादा पोसाकमा छड्के पठाएका थिए । त्यस क्रममा चालकहरूसँग लिएको घुस रकमसहित उनीहरू पक्राउ परेका थिए । महाशाखाले निलम्बनमा गरी उनीहरूमाथि कारबाही अघि बढाएको छ।

यो घटनापछि नागढुंगा र थानकोट प्रभागमा कार्यरत सबै ट्राफिक प्रहरीलाई महाशाखाले तानेको छ । इन्चार्जसहित नागढुंगामा कार्यरत १६, थानकोटमा कार्यरत १५ जनालाई महाशाखामा सरुवा गरिएको हो । त्यस्तै, कलंकी प्रभागमा कार्यरत नौजना ट्राफिक पनि महाशाखामा तानिएका छन् । लामो समयदेखि कार्यरत ट्राफिक प्रहरीलाई बदमासीको आशंकामा महाशाखाले तानेको हो ।

ट्राफिक प्रहरीमा नागढुंगा र थानकोटमा सरुवाका लागि धेरै सोर्सफोर्स चल्ने गरेको छ । धेरै सोर्सफोर्स आएपछि नै वास्तविकता बुझन् डिआइजी खनालले अनुसन्धान गरी कारबाही सुरु गरेका हुन् ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७