‘टीआरसी’ मा जुटेन सहमति, दुई शब्दमा सहमति नभएपछि कानूनमन्त्रीले मागे भोलिसम्मको समय


२० फाल्गुन २०८०, आईतवार
mini samsad

काठमाडौं । संसदीय समितिमा अन्तिम चरणको छलफलमा रहेको संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) का दुई वटा शब्दमा सहमति जुट्न नसकेपछि कानून मन्त्रीले भोलि (सोमबार) बिहानसम्मको समय माग गरेका छन् ।

प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिमा आइतवार भएको छलफलमा कानूनमन्त्री धनराज गुरुङले भोलि (सोमवार बिहान) सम्मको समय मागेका हुन् । विधेयकमा रहेको ‘पीडितको स्वतन्त्र सहमति’ भन्ने शब्द तथा ‘घटी सजाय’ को भन्ने विषयमा सहमति जुट्न नसकेको हो ।

‘पीडितको स्वतन्त्र सहमति हुनुपर्छ, नभएमा के गर्ने भन्ने विषयमा अझै सहमति जुट्न सकेन, त्यसमा ध्यानाकर्षण भएको छ । यस्तै घटी सजायको प्रस्ताव गर्ने विषयमा अलिकति सहमति समय चाहियो’, मन्त्री गुरुङले भने, ‘भोलिसम्म समय दिएमा, सरकारको तर्फबाट सहमति जुटाउँछौं ।’

मन्त्री गुरुङले शान्ति प्रक्रियाको काम टुंग्याउने काममा धेरै हतार या धेरै ढिलो गर्न नहुने सरकारको धारणा रहेको पनि बताएका छन् । त्यसअघि कांग्रेस मुख्य सचेतक रमेश लेखकले आजै ढिलोसम्म बसेर भए पनि विधेयक टुंग्याउन प्रस्ताव गरेका थिए ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमतिको प्रयास स्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहान प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७