नमर्दासम्म उथल–पुथल भइराख्छ, उपयोग गर्न खोजे लात्ताले हानेर निस्कन्छु : प्रचण्ड

‘माओवादी स्थिरतामा बस्न सक्दैन, निरन्तरमा क्रमभङ्ग गर्दै जाने जात हो’


२१ फाल्गुन २०८०, सोमबार
prachanda 3 1 scaled

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी स्थिरतामा बस्ने नसक्ने बताएका छन् । शहीद प्रतिष्ठान नेपालले आज (सोमबार) आयोजना गरेको शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषायक अन्तरक्रियामा बोल्दै उनले नयाँ गठबन्धन बनाएर माओवादी स्थिरता क्रमभङ्गता गरेको जिकिर गरे ।

prachanda 1 3

उनले आज नयाँ राजनीतिक ध्रुवीकरण र नयाँ उथलपुथल भएको दिन बनेको दाबी गरे । ‘माओवादी सिद्धान्त र व्यवहारको दृष्टिकोणले जमेको पोखरी जस्तो बस्ने होइन । गड्गडाउँदो नदी जस्तो बग्ने नदी हो । यो निरन्तरमा रमाएर स्थिरतामा बस्न सक्दैन’, उनले भने, ‘निरन्तरमा क्रमभङ्ग गर्दै नयाँ–नयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी ।’

प्रचण्डले माओवादी राष्ट्र र जनताको घोडा भएको दाबी गरे । उनले समाजवादी मोर्चा मात्र नभई वृहतर कम्युनिष्ट एकताको पनि एकता गर्न लागेको बताएका छन् । उनले क्रान्तिको बाटो सहज नभएको उल्लेख गरे । उनले शहीदको सपनालाइ साकार पार्दै परिवर्तनलाई संस्थागत गर्न सबै क्रान्तिकारीहरु एक ठाँउमा आउन जरुरी रहेको बताए ।

prachanda 2 1

आफूलाई प्रतिक्रियावादीले अविश्वसनीय भन्ने गरेको बताउँदै उनले भने, ‘प्रतिक्रियावादीले मलाई उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर निस्कन सक्छु । उनीहरुका लागि छैन म विश्वसनीय, हुन पनि परेको छैन । आज नयाँ क्रमभङ्ग गर्ने दिन बनेको छ । एकताबद्ध बनौं ।’ उनले झापा विद्रोह सुखानीका शहीद र जनयुद्धका शहीदका सपना पूरा गर्न संकल्प गर्ने दिन आज रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७