स्थानीयले विकास चाहिँदैन भनेपछि करोडौं बजेट फिर्ता


२२ जेष्ठ २०७५, मंगलवार
rolpa

रोल्पा, २२ जेठ । स्थानीयबीचको वैमनश्यताका कारण रोल्पाको लुंग्री गाउँपालिका–६, गुम्चालको विकास गतिविधि ठप्प भएको छ ।
विकासमा पछाडि परेको भन्दै गाउँपालिकाले विशेष प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि आपसी वैमनश्यताका कारण साविक गुम्चाल गाविस वडा नं ७, ८ र ९ को विकास गतिविधि अगाडि बढ्न नसकेको हो ।rolpa

पानी मुहानको विषयबाट शुरु भएको विवादले हाल वडाका सबै विकास गतिविधिमा प्रभाव पारिरहेको स्थानीयले गुनासो गरेका छन । पानी मुहानको विवादका कारण २०६५ सालमा निर्माण गरिएको योजना समेत बेवारिसे भएको छ । योजना अवरुद्ध हँुदा वडाका २०० बढी घरधुरी आधा घण्टा टाढाबाट पानी बोक्न बाध्य छन् ।

एक घर एक धाराको कार्यक्रमअन्तर्गत योजना सञ्चालन भए पनि विवादका कारण कुवाको पानी बोकेर खान बाध्य भएको स्थानीयले बताएका छन् । विवादका कारण पानी आपूर्तिको पाइपमा क्षति पुगेसँगै घरघरमा आएको पानी बन्द हुँदा गाग्रोमा पानी बोक्न बाध्य छाँै, स्थानीय एक महिलाले गुनासो गरे । स्थानीयको विवादकै कारण सो गाउँमा यसपूर्व सिंचाइका लागी आएको करोडौँ बजेट समेत फिर्ता भएको बताइएको छ ।

छ वर्षअघि विद्युत्को पोल गाडिएको भए पनि विवादकै कारण हालसम्म बत्ती बल्न सकेको छैन । गाउँपालिकाले मोटरबाटो निर्माणका लागि बजेट विनियोजन गरेको भएपनि आर्थिक वर्ष समाप्त हुन लाग्दा समेत निर्माणको टुंगो लाग्न नसकेको बताइन्छ । विवादका कारण आफूहरुलाई विकास नचाहिने भन्दै केही स्थानीयले सदरमुकाम पुगेर स्थानीय प्रशासनमा उजुरी समेत गरेको बताइएको छ ।
आपसी विवादका कारण विद्यालय भवन समेत मर्मत नभई जीर्ण अवस्थामा रहेको छ, एक स्थानीयले बताए । गाउँपलिकाका अन्य सबै वडामा सडक पुगे पनि आफूहरु भने अझै गाडी चढ्न आधा घण्टाभन्दा बढी पैदलयात्रा गर्न बाध्य भएको उनले गुनासो गरे ।

सामान्य कुरामा समेत विवाद गर्ने त्यहाँको विशेषता भए पनि पछिल्ला दिनमा राजनीतिक रङगसमेत मिसिएको छिमेकी वडावासीले बताएका छन् । विकासमा पछि परेको भन्दै गाउँपालिकाले अन्य वडाको तुलनामा सो वडामा बढी बजेट विनियोजन गरेको भए पनि विवादले काम अगाडि बढ्न नसकेको लुंग्री गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर खड्काले स्वीकार गरे । विवाद मिलाउन आफूले पटक पटक प्रयास गरेको भए पनि अझै सहमति हुन नसक्दा बजेट फ्रिज हुने हो कि भन्ने चिन्ता लागेको अध्यक्ष खड्काले बताए । विवादित पक्षबीच छलफल गरेर समस्या समाधानका लागि आफूहरु लागिरहेको अध्यक्ष खड्काले बताए । विद्यालयसम्म पुग्ने मोटरबाटो निर्माणमा भने सहमति जुटेकाले अन्य विकासमा पनि सहमति हुनेमा आफू आशावादी रहेको अध्यक्ष खड्काले बताए ।

छलफलमा दुई पक्षको उपस्थिति नहँुदा समस्या समाधानमा विलम्व भइरहेको छ, खड्काले भने । विवादको जड पानी मुहान भएकाले त्यसको विकल्पसमेत खोज्न सकिने गरी आफू लागिपरेको उनको भनाइ थियो । स्थानीय तहको निर्वाचनपछि बनेको स्थानीय सरकारबाट विकास गतिविधिमा आएको तीव्रतासँगै छिमेकी वडा लाभान्वित भए पनि आफूहरु भने विवादकै कारण विकास गतिविधिबाट वञ्चित हुनुपरेको स्थानीय सर्वसाधारणले गुनासो गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७