ज्वालामुखी विस्फोटमा मृत्यु हुनेहरूको संख्या ६९ पुग्यो

काठमाडौं, २२ जेठ । एक सय १६ वर्ष भन्दापछि ग्वाटेमालाको सबैभन्दा हिंस्रक ज्वालामुखी फुएगो विस्फोटमा परी मृत्यु हुनेहरूको संख्या ६९ पुगेको छ भने १७ जनाको अवस्था अज्ञात नै रहेको छ ।ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीबाट करीब ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको फुएगो ज्वालामुखीबाट आइतबार चट्टान, ग्याँस र धुवाँ आकाशमा उडेको समाचार एजेन्सीहरूमा उल्लेख छ । तीब्र गतिमा ज्वालामुखीबाट निस्केको पदार्थ नजिकका गाउँतर्फ प्रवेश गरेपछि घरभित्र बसेका मानिसको मृत्यु भएको हो । ज्वालामुखीका कारण सयौं घाइते भएका छन् । देशको प्रमुख विमानस्थल बन्द गराइएको बताइएको छ ।
ज्वालामुखीमा नागरिक मारिनुका साथै सयौं घाइते र बेपत्ता भएपछि ग्वाटेमालाका राष्ट्रपति जिम्मी मोराल्सले तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गरी राष्ट्रपति मोराल्सले मानव जीवनमा भएको अपूरणीय क्षतिले देश गहिरो पीडामा परेको उल्लेख गरेका छन् ।
ल्याटिन अमेरिकाको सक्रिय ज्वालामुखीमध्येको एक फुएगो ज्वालामुखी सन् १९७४ मा भएको प्रमुख विस्फोटबाट नजिकै रहेको फार्ममा ठूलो क्षति भएको थियो । यद्यपी त्यसबेला कुनै पनि मानवीय क्षति भएको थिएन । यसै वर्षको फेब्रुअरीमा भएको पछिल्लो विष्फोटनका कारण एक दशमलव सात किलोमिटर माथि आकाससम्म खरानी उडेको थियो । आइतबारको घटना फेब्रुअरी महिनाको भन्दा ठूलो मात्राको भएको बताइएको छ ।

सन् १९०२ पछि ग्वाटेमालामा आइतबारको ज्वालामुखी विस्फोटन अत्यन्तै खराब भएको बिबिसीले उल्लेख गरेको छ । सन् १९०२ मा भएको सान्ता मारिया ज्वालामुखी विष्फोटनमा परी हजारौं मानिसको मृत्यु भएको थियो । ज्वालामुखी विष्फोटनका कारण सयौं प्रहरी अधिकारी, रेडक्रस तथा सैन्य अधिकारी परिचालन गरिएको छ । परिचालन गरिएका अधिकारीहरुले ज्वालामुखीमा परेका मानिसको उद्धार गरी उनीहरुका लागि अस्थायी बसोबासको व्यवस्था गरिरहेको बिबिसीले जनाएको छ। एजेन्सी