कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ : औसत र तदर्थ सरकार चलाएर पद रक्षा गर्न चाहिनँ

‘मन्त्रिपरिषद् पुनर्गठनबाटै धेरै कुराको जवाफ दिइसकेको छु’


२४ फाल्गुन २०८०, बिहीबार
prachanda 6

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो गठबन्धनबारे नेपाली कांग्रेसले लगाएका आरोपबारे प्रस्ट्याएका छन् । संसद बैठकमा बोल्दै उनले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् ।

संसदमा उठेका महत्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै घटकका तर्फबाट आफू सुशासन कायम गर्ने कार्यमा प्रतिबद्ध रहेको बताए । “मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौं’, प्रधानमन्त्री प्रचण्डले भने, ‘गठबन्धनका सबै घटकका तर्फबाट म सङ्कल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता हुने छैन, सुशासन, सामाजिक न्याय र समृद्धि हुनेछ ।’

आफूले सरकारको गतिसँग असन्तुष्ट छु भनेर पटक–पटक भनेको स्मरण गर्दै प्रधानमन्त्रीले आउँदा दिनमा सरकारका काम र परिणामबाट प्रमाणित हुने विश्वास व्यक्त गरे । “मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भए पनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्र निर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजें’, प्रधानमन्त्री प्रचण्डले भने, ‘त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन् । अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ ।’

आफूले चालेका कदम देश र जनताको हितमा रहेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘कसैलाई मेरो कदम अस्थिरता लाग्न सक्छ, कसैलाई गतिशीलता तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ ।’ प्रधानमन्त्री प्रचण्डले यही फागुन ६ देखि १८ गतेसम्मका विषयमा सरकारको धारणा माग गरिएकोमा सरकारको समीकरणसँगै मन्त्रीहरूको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताए ।

‘सांसदहरूले उठाउनु भएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु’, प्रधानमन्त्री प्रचण्डले भने, राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनसँगै माननीय ज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन् । उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनर्गठनसँगै असान्दर्भिक भएको छ ।’

सम्बोधनमा प्रधानमन्त्रीले नेपाली कांग्रेसले सरकारमाथिको विश्वासको मत फिर्ता लिइसकेकाले फेरि विश्वासको मत लिने क्रममा आफूले संसदमा विशेष सम्बोधन गर्ने समेत प्रष्ट पारेका छन् । उनले सांसदहरूले बालकुमारीमा २ जनाको मृत्यु भएको विषयमा सांसदहरूले उठाएको विषय हल भएको बताएका छन् । उनले सरकार पुनर्गठनले बालकुमारी घटनाबारे सांसदहरूले गरेको माग पूरा भएको पनि बताए । सांसदहरूले सो घटनाको कारक पूर्वभौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला रहेको भन्दै उनलाई सरकारबाट हटाउन माग गर्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७