प्रधानमन्त्रीले दिए कांग्रेससँग गठबन्धन तोड्नुका चार कारण

‘आफूसँग हुँदा इमान, अरुसँग जाने बित्तिकै बेइमान भन्ने हुँदैन’


२४ फाल्गुन २०८०, बिहीबार
prachanda 7

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस नेतृत्वको आफूप्रति सद्भाव र विश्वास रहे पनि राजनीतिक कारणले गठबन्धन छोड्नु परेको स्पष्टीकरण दिएका छन् । कांग्रेसले राजनीतिक बेइमानी गरेको भन्ने आरोप लगाएको विषयमा उनले विकास र सरकारको गतिलाई लिएर गठबन्धन फेरेको बताए ।

‘नेपाली कांग्रेसले सरकारमाथिको विश्वास फिर्ता लिइसकेकाले फेरि मैले संसदमा विश्वासको मत राख्न बाँकी नै छ । विश्वासको मत लिने सन्दर्भमा विस्तारपूर्वक घटनाक्रम र समीकरणबारे धारणा राख्नेछु’, प्रधानमन्त्रीले भने, ‘म जिम्मेवारीपूर्वक र गम्भीरतापूर्वक भन्न चाहन्छु । यस संसदमा म प्रधानमन्त्रीका रूपमा असुरक्षित थिइन् । टिकिरहनुलाई स्थायित्व मान्ने हो भने नेपाली कांग्रेसको नेतृत्व र मेराबीच कुनै समस्या थिएन ।’

उनले त्यस्तो ढुक्कको अवस्था भए पनि त्यो व्यक्तिगत मात्र भएको बताए । राजनीतिक कारणले सत्ता गठबन्धन फेर्नुपरेको बताए । उनले अघिल्लो पटक पनि त्यही भएको भन्दै राजनीतिमा व्यक्तिगतभन्दा राजनीतिक कारण निर्णायक हुने बताए ।
माओवादीलाई कांग्रेसले जसरी निर्वाचनमा सघायो, त्यस अनुरुप सहयोग पाएन भन्ने मनोविज्ञान देशभर रहेकाले त्यसको सम्मान गरेको बताए । उनले कांग्रेसबाट भएका राजनीतिक गल्ती औल्याए ।

‘एउटा परिस्थितिबाट फेरिएपछि कोशी प्रदेशमा एउटा घटना भयो । शेखर पक्षले विद्रोह गरेर त्यहाँ गठबन्धनको निर्णयविपरीत सरकार बन्यो । त्यसमा दण्डीत दण्डित हुनुपर्ने पक्ष भएन’, प्रचण्डले थपे, ‘राष्ट्रियसभामा त्यही समूहले हराउने काम ग¥यो । नेपाली कांग्रेसको महासमिति बैठकमा गठबन्धनको निन्दा गर्ने काम भयो ।’

निर्वाचन आउन चार वर्षअघि नै गठबन्धनको निन्दा स्वभाविक मान्न नसकेर विकल्पको बाटोमा लागेको उनको भनाइ छ । उनले कांग्रेसको संविधानमाथिको प्रतिबद्धतामा पनि गम्भीर प्रश्न उठाए । संविधान जारी गर्दा नेतृत्व लिएको कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर हिन्दु राज्यको अभियान चल्नुले उसको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठेको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले बेइमानी नगरेको दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भएको निष्कर्ष निकालेको भन्दै अरुसँग जानेबित्तिकै त्यस्तो नहुने जिकिर गरे । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘आफूसँग हुँदा इमान, अरुसँग जाने बित्तिकै बेइमान भन्ने हुँदैन । सोझो भाषामा भन्न चाहन्छु, राजनीतिमा केही आशंका आएपछि यो भएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७