रमेश खरेलले सात किलो चरेस कहाँबाट ल्याए ?


२२ जेष्ठ २०७५, मंगलवार
kharel

काठमाडौं, २२ जेठ । ३३ किलो सुन प्रकरणमा एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसीहरुको बचाउ गर्दा पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी, पूर्व डीआइजी रमेश खरेल र हेमन्त मल्ल ठकुरी विवादमा परेका छन् । उनीहरुले आइतबार ३३ केजी सुन तस्करी र त्यहीसँग जोडिएको सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयबाट भएको छानविनको निचोडले नेपाल प्रहरीको अपराध अनुसन्धान प्रणाली नै मर्ने खतरा देखापरेको चिन्ता ब्यक्त गरेका थिए । उनीहरुले पत्रकारहरुसँग प्रहरीको अपराध अनुसन्धानलाई मर्न नदिन नागरिकले खबरदारी गर्नुपर्ने अवस्था आएको बताएका थिए ।

kharel
प्रहरीले ३३ किलो सुन प्रकरणमा अनुसन्धानका क्रममा पैसाको डिल गरेको भन्ने आसयको अभिब्यक्ति खरेल लगायतका पूर्व प्रहरी अधिकृतहरुको थियो । अनुसन्धानका क्रममा प्रहरीले ग्राहक बनेर लागूऔषध, सुन तस्करहरुलाई समात्न पैसाको डिल समेत गर्नुपर्ने हुन्छ । ३३ किलो सुनमा पनि सनम शाक्यको हत्यामा संलग्न चुडामणि उप्रेती गोरेलाई पक्राउ गर्नका लागि प्रहरीले पैसाको डिल गरेको हुनसक्छ भन्ने तर्क उनीहरुले राखेका छन् । प्रहरीले अनुसन्धानका क्रममा अपनाउने विधि अपनाउँदा सुन प्रकरणमा उनीहरुलाई मुद्दा चलाइएको छ । जसका कारण प्रहरीका अनुसन्धान नै मर्नसक्ने र फितलो हुने चिन्ता पनि उनीहरुले प्रकट गरेका थिए । र, सगठन प्रमुखका नाताले आइजीपीले प्रहरीको बचाउ नगरेको संकेत उनीहरुले गरेका थिए ।

खरेलले प्रहरीको बचाउका लागि अभिब्यक्ति दिंदा आफैं चिप्लिएका छन् । उनले २९ बर्षको प्रहरी सेवामा अपराध अनुसन्धानका क्रममा ७ किलो चरेस बोकेर गएको बताएका छन् । उनले ७ किलो चरेस कोबाट कहाँ बरामद गरेका थिए भन्ने प्रश्न उठेको छ । ७ किलो चरेस कहाँबाट बरामद गरिएको थियो र खरेलले बोकेर अपराधी पक्राउ गर्न गए ? र, ७ किलो चरेस बोकेर गएर उनले कसलाई बरामद गरे त्यो भने उनले खुलाएका छैनन् । ७ किलो चरेस त ठूलो परिमाण हो । त्यति ठूलो परिमाणको चरेस बरामद भएको समाचार त राष्ट्रिय चर्चाको बिषय हुन्थ्यो ? यी र यस्ता प्रश्नको जवाफ खरेलले दिनुपर्ने भएको छ । त्यत्रो चरेस बरामद गरेपछि मान्छेसमेत मुद्दा दायर गरेको विवरण खरेलले दिन सक्छन् ? यो प्रश्न प्रहरीभित्रैबाट उठेको छ ।

गृहमन्त्राललयको छानबिन समितिमाथि प्रश्न उठाउँदै खरेलले भनेका छन्–प्रहरी अनुसन्धानको बारेमा अनुभव नै नभएका ब्यक्तिलाई छानबिन समितिमा राखिएकाले पनि गल्ती नै नभएका प्रहरी अधिकृतहरुलाई सुन प्रकरणमा फसाइएको छ ।

गृहमन्त्रालयका सहसचिव इश्वर पौडेल संयोजकत्वको छानबिन समितिमा प्रहरीका एसएसपी वसन्त लामा, डीएसपी सुदीप पाठक र भीष्म हुमागाई सदस्य छन् । एसएसपीको नेतृत्वमा तीन जना प्रहरी अधिकृत नै छानबिन समितिमा रहेका छन् । तर खरेलले छानबिन समितिमा रहेकाहरुसँग प्रहरी अनुसन्धानको बारेमा कुनै अनुभव नै नभएको बताएका छन् ।

छानबिन समितिको संयोजक त प्रहरी अनुसन्धानका बारेमा जानकार नभए पनि तीन जना प्रहरी अधिकृतहरु त जानकार थिए । एसएसपी भइसकेका लामा समेत समितिमा छन् । खरेलले प्रहरी अधिकृतको क्षमतामाथि समेत प्रश्न उठाएका छन् । तर स्रोतका अनुसार पूर्वएआइजी भण्डारी र डिआइजी मल्ल रमेश खरेललाई आइजीपी बनाउने पक्षमा थिए । तर खरेल आईजीपी बनेनन् । उनले राजीनामा दिए । दोस्रो दिवेश लोहनी रमेश खरेल पर्साको प्रहरी प्रमुख हुँदा उनका ट्वाईसी थिए । खरेलकी श्रीमती रन्जु खरेल र लाहेनीले भन्सारबाट सुराकी भत्ता लिएका थिए ।

पत्रकार सम्मेलन गर्ने भण्डारी, मल्ल र खरेलको लोहनीसँग सुससम्बन्ध पनि एउटा कारण हो । तेस्रो ३३ किलो सुनका मुख्य मालिक मोहन अग्रवाल धरानियाँ पक्राउ परेको खण्डमा राजेन्द्रसिंह भण्डारी लगायतका प्रहरी अधिकृतहरु समेत तानिने भएपछि यो प्रकरण डाइभर्ट गर्न खोजेको अर्थमा पनि प्रहरीभित्र लिइएको छ । भण्डारी विशेष टोलीको एसपी हुँदा हुन्डी,डलर र सुन तस्करीमा संलग्न अग्रवालबाट ठूलो रकम खाएको आरोप छ । मोहन अग्रवाल हुन्डी, डल र सुनका ठूला कारोबारी हुन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७