निर्वाचन आयोगले नाउपा अध्यक्षमा मान्यता नदिएपछि रेशमले भने-पार्टी सिध्याउने खेल भयो

‘न्याय मरे पनि, म मरेको छैन’


२४ फाल्गुन २०८०, बिहीबार
Resham Chaudhary
फाइल फोटो

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा मान्यता नदिएपछि रेशम चौधरीले पार्टी सिध्याउने खेल भएको प्रतिक्रिया जनाएका छन् । नागरिक उन्मुक्ति पार्टीले निर्वाचन आयोगमा पेश गरेको कागजात अध्ययन गर्दा राजनीतिक दल सम्बन्धि ऐन विपरित भएको नयाँ कार्यसमितिलाई मान्यता नदिएपछि चौधरीले आफूलाई पार्टीको अध्यक्षको वैधानिकता नदिएकोमा आपत्ति जनाएका हुन् ।

उनले पटक–पटक न्याय मरे पनि आफू नमरेको बताएका छन् । ‘नागरिक उन्मुक्ति पार्टी सिध्याउने खेल । हामी हरेश खान्नौं । पटक–पटक न्याय मरे पनि म मरेको छैन ।’ उनले फेसबुकमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘चाल बुझेको थिएँ, बाघचाल हो भन्ने थाहै भएन । बाघ बूढो भएपछि बस्तीमा पस्छ रे, बस्तीमा गोरु खान पल्केका सबै बाघ वनमै फर्किन्छन् भन्ने कुनै ग्यारेन्टी हुन्न । जय नागरिक ।’

अदालतबाट टीकापुर घटनाका मुख्य दोषी ठहर भएका चौधरी सरकारबाट आममाफी पाएपछि कैलालीको टीकापुरमा भएको पहिलो अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए । पछिल्लो विवरण अध्यावधिक नभएकाले राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ नियमको २५ को उपनियम (६) बमोजिम नागरिक उन्मुक्ति पार्टीको साविकको विवरण नै कायम रहने निर्वाचन आयोगले जनाएको छ । यसअघि चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष रहेकी थिइन् । रञ्जिता नेतृत्वकै कार्यसमितिलाई आयोगले मान्यता दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७