सहकारी र लघुवित्तको सम्पूर्ण ऋण मिनाहाको माग गर्दै जनकपुरमा आजपाको प्रदर्शन


२९ फाल्गुन २०८०, मंगलवार
b

जनकपुर । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले विभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ । आजपा महासचिव उपेन्द्र साहको नेतृत्वमा जनकपुरधामको बारहविग्घाबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय धनुषासम्म पुगेको थियो । सो क्रममा जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय अगाडी समेत प्रदर्शनकारीले नारावाजी गरेका थिए ।

आजपा मधेस प्रदेश कमिटीको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले आफूहरुको माग सम्बोधन नभए यो भन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी दिएका छन् । प्रदर्शनमा सहभागी आजपाका महासचिव साहले आफूहरूको माग गम्भिर रूपमा लिएर सम्बोधन नगरिए मधेस बन्द गर्नुपर्ने चेतावनी सरकारलाई दिएका छन् ।

‘हामीले शान्तिपूर्ण रुपमा विरोधका कार्यक्रम गरिरहेका छौं । किसान, सर्वसधारणदेखि आम जनताका माग सम्बोधन गर्नमा सरकारले ढिलाई गरेमा हामी मधेस बन्दसम्मको कडा आन्दोलनका कार्यक्रम ल्याउँन बाध्य हुनेछौं । त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने हुन्छ,’ आजपा महासचिव साहले भने । आजपाले बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुको सम्पूर्ण ऋण मिनाहा गर्नुपर्ने, किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने लगायतका माग गरेको छ ।

यसैगरी आजपाले मधेसमा भइरहेको सरकारी योजना र बजेटको खरीद बिक्री जस्ता भ्रष्टाचारजन्य कार्य रोक्न भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेको छ । आजपा महासचिव साहले पार्टीको हालै सम्पन्न स्थायी कमिटीको बैठक र मधेस प्रदेश कमिटीको बैठकको निर्णय अनुसार सर्वसधारणका मुद्दा सरकार समक्ष पुर्‍याउनका लागि पार्टीले संघर्षका विभिन्न कार्यक्रमहरु अगाडि बढाउने निर्णय अनुसार विरोध प्रदर्शन गरिएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७