रन्जितालाई रेशमको पत्र : मैले तिमीलाई सम्झाउन सकिनँ प्रिय !

‘आज लोग्ने–स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन्, मलाई चिन्ता यसैमा छ’


३० फाल्गुन २०८०, बुधबार
resham vs ranjita

काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै पारिवारिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आज (बुधबार) बिहान लामो फेसबुक स्ट्याटस लेखेर पार्टीको पछिल्लो परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । चौधरीले आफू र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको प्रस्टाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले पार्टीको अवस्थाबारे व्याख्या गर्दै आफ्नो र रन्जिताको अडानलाई पनि प्रस्ट पारेका छन् । ‘विषय जित हारको होइन, आज जिते प्रचण्ड, ओली जित्लान् । भोलि फेरि देउवा जित्लान् ’ उनले लेखेका छन्, ‘सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिद्ध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ, आफ्नो पार्टी निर्माणमा जुटौँ ।’

जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो भन्दै रेशम लेख्छन्, ‘सन्दर्भः घर झगडा हुँदै होइन, विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । आज पनि हेर्नुस् , एमाले,माओवादी, कांग्रेस । यी ठूला दलका नेता–कार्यकर्ता सांसद कतै चलमलाएका छन् र तर एकीकृत समाजवादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपा जस्ता साना दलमा कत्रो भुईचालो गएको छ ?’ उनले यी उदाहरणहरूलाई देखाउँदै कुनैपनि गठबन्धनका पछाडि नलाग्न आग्रह गरेका छन् । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिस्ट नभई भौगोलिक सांस्कृतिक पहिचानसहितको सङ्घीयताका लागि समुदायमा आधारित समाजवाद प्रतिउत्पादनका लागि जन्मेको पार्टी रहेको बताएका छन् ।

मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय : रेशम चौधरी
यतिबेला नागरिक उन्मुक्तिभित्र केन्द्रमा पुष्पकमल दाहालको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ छिन् । तर पार्टीका संरक्षक समेत रहेका रञ्जिताका श्रीमान भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा छन् ।

‘मैले तिमिलाई सम्झाउन सकिनँ प्रिय, र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन,’ रेशमलालले लेखेका छन्, ‘आज लोग्ने–स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ । तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न । आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदयदेखि चाहनेवाला हुन् । मलाई भोट हाल, मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउनेवाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौं टण्टै साफ ।’

रेशमलालले आफ्नो धारणा विपरीत गए पार्टीबाट कारबाही हुनसक्ने संकेत पनि गरेका छन् । ‘याद रहोस्, केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्छ र कारबाही भोग्नुपर्छ,’ उनले भनेका छन्, ‘सबैलाई लागेको होला, केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ । यो सोच्दै हुनुहुन्छ भने तपाईं भ्रममा हुनुहुन्छ । अहिले भन्न सक्दिनँ अहिले केन्द्रीय समितिले स्वतन्त्र भइ निर्णय गरेको हो । अब हरेक निर्णय यसरी नै स्वतन्त्र भइ गर्नुपर्छ ।’

रेशमलालले दोहो¥याएर भनेका छन्, ‘कुरा बुझौं, कुनै पनि गठबन्धनका पछाडि नलागौं । नागरिक उन्मुक्ति पार्टी कांग्रेस-कम्युनिस्ट होइन, भौगोलिक सांस्कृतिक पहिचानसहितको संघीयताका लागि समुदायमा आधारित समाजवाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो । त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौं । आफ्नो नीति सिद्धान्त अनुरुप चलौं ।’

उनले रञ्जिता र आफूबीच उत्पन्न विवादबारे पनि खोलेका छन् । ‘कुरो रहृयो बुढाबुढीको । म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घण्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ रेशमललाले लेखेका छन्, ‘प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे, हामीले उनको साथ छोड्नु हुन्न भन्छिन् । अरे लाटी, टीकापुर घटनापछि पनि प्रचण्ड दुईचोटी प्रधानमन्त्री भएकै थिए । हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो, तर हामी रिहा भएनौं नि । अहिले पनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन्, दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौं र तिमी पनि मन्त्री भएकी हौ ।’ एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो भन्ने उनको भनाइ छ ।

निर्वाचन आयोगले आफूलाई मान्यता नदिएको बारेप नि उनको आक्रोश छ । ‘जेलमा मैले लेखेको विधानले आज पार्टी चलेको छ । तर मैले सबैको सदुपयोगीका लागि विधान लेखेको हुँ, दुरुपयोगका लागि होइन,’ रेशमललाले भनेका छन्, ‘अहिले विधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ । सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन विधान भन्दा माथि हुन्छ । सत्ताको सदुपयोग या दुरुपयोग क्षणिक हो, तर जनता जनार्दन हुन् । यसका बारेमा अदालतले केही दिनमा अवश्य न्याय देला ।’

आफ्ना कारण लाखौं जनताको मन दुखेको आफूलाई अनुभूत भएको उनको भनाइ छ । ‘त्यसकारण म क्षमा चाहन्छु । तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन,’ उनले लेखेका छन्, ‘म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो, हार होइन । मान्नैपर्छ, दुःख दैवले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७