रेशमले स्टाटस लेख्दा सँगै थियौं, फरक विचारले परिवार फुट्दैन : रञ्जिता

‘रेशमजी राजी भइसके, अब कुनै विवाद छैन’


३० फाल्गुन २०८०, बुधबार
Resham ranjita

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कुराले परिवार नफुट्ने स्पष्ट पारेकी छिन् । आज (बुधबार) संसद्मा प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले फरक विचारका कारण पार्टी र परिवारलाई कुनै असर नपर्ने दावी गरेकी हुन् ।

उनले पार्टीभित्र फरक विचार हुनु स्वाभाविक भएको पनि बताएकी छिन् । उनका श्रीमान समेत रहेका पार्टीका संस्थापक रेशम चौधरीले फेसबुकमा स्टाटस लेख्दा आफू पनि सँगै रहेको श्रेष्ठको भनाइ छ । नाउपाका संस्थापक रेशम चौधरीले बुधबार बिहान फेसबुकमा स्ट्याटस लेख्दै रञ्जितालाई बुझाउन नसकेको बताएका थिए ।

अध्यक्ष रञ्जिताले पार्टी संरक्षक रेशम चौधरीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णयमा सहमति जनाएको दावी समेत गरेकी छन् । मंगलबार श्रेष्ठले प्रचण्डलाई विश्वासको मत दिन ह्विप लगाएकी थिइन् । तर, संरक्षक चौधरीले सुदूरपश्चिम प्रदेशमा बरु संवाद गर्न सकिने भए पनि केन्द्रमा प्रचण्डलाई विश्वासको मत दिन नहुने र प्रतिपक्षमा बस्नु पर्नेलगायत दुई बुँदे निर्णय गरेका थिए । श्रेष्ठ र चौधरीबीचको विवादले अन्योल बनेको थियो ।

बुधबार बिहानै चौधरीले श्रीमती श्रेष्ठलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए । तर, बुधबार दिउँसो प्रचण्डलाई विश्वासको मत दिने कुरामा चौधरी सहमत बनेको रञ्जिताले दावी गरिन् । ‘हाम्रा पार्टीका चारै जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको भोट हाल्यौं,’ श्रेष्ठले भनिन्, ‘प्रदेश सरकारमा समेत यही गठबन्धनबाट जाने समझदारी जुट्दैछ ।’ उनले भनिन्, ‘रेशमजी सहमत भइसक्नु भयो । मैलेभन्दा बढी उहाँले समर्थन गर्नु हुन्छ । सम्मानीय प्रधानमन्त्री ज्यूले विश्वासको मत पाएको तस्वीर राखेर बधाई दिइसक्नु भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७