पर्सामा एक महिनादेखि आतंक मच्चाइरहेको बाघ नियन्त्रणमा


२ चैत्र २०८०, शुक्रबार
tiger parsa

पर्सा । पर्साको ग्रामीण भेगमा आतङ्क मच्चाउँदै आएको बाघलाई नियन्त्रणमा लिइएको छ । विगत एक महिनादेखि जिल्लाको उतरी ग्रामीण भेगमा आतंक मच्चाएको बाघ नियन्त्रणमा लिइएको जिल्ला वन कार्यालय पर्साले जनाएको हो । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जको प्राविधिक टोलीले सखुवाप्रसौनी गाउँपालिका–२ स्थित उखुबारीबाट उक्त बाघलाई ‘डार्टगन’ प्रयोगगरी नियन्त्रणमा लिएको हो ।

दुवै निकुञ्जका टोलीलाई बाघ नियन्त्रणका लागि तीन वटा हात्तीमा १० दिन देखि खटाइएको जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साहले जानकारी दिए । साहका अनुसार हिजो दिउँसो प्राविधिक टोलीले भाले पाटेबाघलाई डार्टगन प्रहार गरी नियन्त्रणमा लिएको हो । सखुवाप्रसौनी र पटेर्वासुगौली गाउँपालिकाको राष्ट्रिय वनसँग नजिक रहेको गाउँमा एक महिन यता बाघले आतङ्क मच्चाएको थियो । बाघ हिँड्ने सम्भावित क्षेत्रमा सीसीटीभी समेत जडान गरिएको थियो ।

बुधबार राति सीसीटीभीमा रेकर्ड भएको फुटेजका आधारमा बिहीबार दिउँसो उखुबारीमा बाघ फेला परेपछि डार्ट हानेर बेहोस पारिएको जिल्ला वन कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएको बाघलाई गाडीमा राखेर चितवन राष्ट्रिय निकुञ्जमा लगिएको वन कार्यालय प्रमुख साहले बताए । दिनदहाडै बस्तीमा प्रवेश गरेर बाघले मानिस तथा पशुचौपायालाई आक्रमण समेत गर्ने गरेको थियो । बाघको आक्रमणबाट सो क्षेत्रमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । यस्तै बाघले दर्जनौँ चौपाया मारेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७